सिए पढ्ने नयाँ विद्यार्थीलाई अभिमुखीकरण


काठमाडौँ । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । जुन २०२६ ब्याचको लागि चार्टर्ड एकाउन्टेन्ट शिक्षाको पहिलो तह फाउन्डेसन लेवलमा भर्ना भएका विद्यार्थीहरुलाई संस्था र चार्टर्ड एकाउन्टेन्ट शिक्षाबारे जानकारी प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा संस्थाका अध्यक्ष सिए निलबहादुर सारु मगरले विद्यार्थीलाई लेखा व्यवसाय क्षेत्रका नवीन परिवर्तनहरु आत्मसात गर्दै चार्टर्ड एकाउन्टेन्ट यात्राका लागि शुभकामना दिए।

संस्थाका उपाध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेले विद्यार्थीहरुले नयाँ सोच, जोस र जाँगरसहितको योग्य पेशाकर्मी बन्न कोसिस गर्नुपर्नेमा जोड दिए। संस्थाका कार्यकारी निर्देशक सिए बिमल डंगोलले विद्यार्थीलाई यस शिक्षामा स्वागत गरे । कार्यक्रममा संस्थाका सहायक निर्देशक सिए गौरब खतिवडाले संस्था र सिए शिक्षाको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

साथै पार्षद् सिए हरिकुमार सिलवाल, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर सिए महाप्रसाद अधिकारी, संस्थाका निवर्तमान अध्यक्ष सिए प्रविणकुमार झा, क्याप थ्रीका टपर सागर ज्ञवालीले आफ्नो सिए यात्रा, सिए करिअरका विविध आयाम लगायत विषयवस्तु समेट्दै प्रेरणादायी वक्तव्य दिएका थिए । कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा करिब ४२५ विद्यार्थी भौतिक रुपमा सहभागी थिए ।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार  १० : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।