जुम्लाको मार्सी चामल ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री, काठमाडौँमा प्रतिकिलो २२५ रुपैयाँ

0
Shares

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ ।

कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ ।

मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टरबाट बिक्रीवितरण शुरु गरेको हो।

मार्सी चामल तीन दिन अर्थात् आइतबारसम्म २६८ किलो बिक्री भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । उनका अनुसार बिहीबार ९३ किलो, शुक्रबार १४४ किलो र आइतबार १३१ किलो चामल बिक्री भएको छ । उनले कम्पनीले यसअघि बिक्रीवितरण गर्दै आएको अन्य चामल जस्तै मार्सीको चामल बिक्री हुने अपेक्षा गरिएको बताए । खाद्य कम्पनीका काठमाडौँ उपत्यकाका पाँच बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा सो चामल राखिएको छ ।

यसैगरी बन्दाबन्दीका समयबाट शुरु गरिएको अनलाइनमा समेत उक्त चामल राखिएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकिलो मार्सी चामल २२५ मा बिक्री गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको कार्यक्रमभित्र रहेको जुम्लाको मार्सी धान खरीदको प्रक्रिया शुरु गरेको छ । धान खरीद प्राथमिक समितिले जुम्लाको मार्सी धान खरीद गर्न प्रतिकिलो १०२ र पैसा ५० तथा चामल प्रतिकिलो १६२ र पैसा ५० निर्धारण गरेको छ ।

धानको मूल्य निर्धारणका लागि कम्पनीले प्रत्येक वर्ष सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीका संयोजकत्वमा कृषिज्ञान केन्द्र, स्थानीय कृषक समन्वय समितिका प्रतिनिधिलगायतको समिति बनाएको छ । कम्पनीले हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णालीमा उत्पादित सिमी, केराउ दाना, मुसुरो र रहरको दाल बिक्री काउन्टर तथा अनलाइनमार्फत बिक्रीवितरण गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ माघ २०७७, सोमबार  १८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।