सरकारले बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्य प्रसाद सिलवाललाई अध्यक्ष नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले करिब एक महिनादेखि रिक्त रहेको बीमा समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गरेको हो ।
सिलवाल चार वर्षे कार्यकालका लागि समितिको अध्यक्ष पदमा नियुक्त भएका हुन् । उद्योग मन्त्रालय, गृह मन्त्रालयको सचिवमा रहेर काम गरेको अनुभव सिलवालसँग छ । सरकारले यस पटक पनि सरोकारवालाहरुको चाहाना विपरित बीमा क्षेत्र बाहिरको व्यक्तिलाई अध्यक्ष नियुक्त गरेपछि खुलेर स्वागत गरेका छैनन् । बीमा क्षेत्रसँग आवद्ध रहेका व्यक्तिहरुले बीमा क्षेत्रमा ज्ञान भएको व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए ।
बीमा ऐन २०४९ मा बीमा सम्बन्धी जानकार व्यक्तिलाई नै अध्यक्षमा नियुक्त गर्नु पर्ने व्यवस्था छ । बीमा ऐन २०४९ को दफा ६ मा बीमा समितिको अध्यक्षको सेवा, शर्त र सुविधा सम्बन्धी व्यवस्था गरिएको छ । तर हालसम्म राजनीतिक शक्तिका आधारमा नै अध्यक्ष नियुक्ति हुँदै आएका छन् । फेरि पनि रिक्त रहेको समितिको अध्यक्ष पदमा सरकारले बीमा ऐन विपरित बीमा क्षेत्रमा अनुभव नभएको व्यक्तिलाई अध्यक्ष पदमा चयन गरेपछि विभिन्न टिका टिप्पणी हुन थालेका छन्। 
अध्यक्ष नियुक्तिको खुलेर स्वागत गर्न नसकेका बीमकहरुले सरकारको विरोध पनि गर्न सकेका छैनन् । तर नोट बजारसँगको कुराकानीमा भने केही बीमा कम्पनीका प्रमुखहरुले असन्तुष्टि पोखेका छन् । बीमा क्षेत्रको ज्ञान नभएको व्यक्ति अध्यक्ष नियुक्ति भएकाले बीमा बजारको विकास र विस्तारका लागि झन चुनौतिहरु थपिएको उनीहरुको बुझाई छ ।
‘सिलवाल सर व्यक्तिगत रुपमा असल हुनुहुन्छ, उहाँसग सरकारी सेवाको उच्च तहमा रहेर काम गरेको प्रशस्त अनुभव छ तर बीमाक्षेत्रको व्यक्ति नभएकाले समितिको काम प्रभावकारी नहोला भन्ने चिन्ता छ।’, एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले नोटबजारसँग भने । बीमा बुझेको व्यक्ति र नबुझेको व्यक्तिमा अन्तर रहने हुँदा कार्यशैलि र प्राथमिकतामा प्रभाव पर्ने उनको भनाई छ ।
अर्का एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले सरकारका पूर्व सचिव बीमा समितिको अध्यक्ष बनेर आउँदा समितिले कुशल नेतृत्व पाउने विश्वास व्यक्त गरे । तर, बीमा ऐन विपरित बीमा समितिको अध्यक्ष नियुक्त गरिएको प्रति भने चिन्ता व्यक्त गरे । एक नीर्जिवन बीमा कम्पनीका प्रमुखले सरकारको सचिव पदमा रहेर काम गरेका व्यक्ति बीमा समितिको अध्यक्ष चयन गरेकोमा बीमा कम्पनीहरुले सकारात्मक रुपमा लिनुपर्ने बताए ।
बीमा समितिका नयाँ अध्यक्षका लागि चुनौति
सरकारले बीमा समितिमा नियुक्त गरेको नयाँ अध्यक्ष बीमा सम्बन्धि ज्ञान बाहिरका व्यक्ति हुन् । बीमा क्षेत्रमा कुनै पनि ज्ञान नभएका नयाँ अध्यक्ष सिलवालका अघि बीमा व्यवसायमा धेरै चुनौति रहेका छन् । बीमा सम्बन्धि ज्ञान हासिल नगरेका सिलवालले कसरी बीमा क्षेत्रलाई अगाढि बढाउछन् भन्ने आशंका उब्जिएको छ।
बजारमा थप नयाँ पूनर्बीमा कम्पनी आउने चर्चा चलिरहँदा लाइन्सेन्स दिने कि नदिने भन्ने चुनौति समेत उनलाई छ । बीमा कम्पनीहरूले समयमा वित्तीय विवरण नबुझाउने, लघुबीमा जारी नगर्ने लगाएयका चुनौतिलाई नयाँ अध्यक्षले सामना गर्नुपर्ने देखिन्छ । बीमकहरुले कानून विपरित बीमालेख जारी गर्दा समेत समितिले कारर्वाही गर्न सकेको छैन् । यो पनि उनको लागि एउटा चुनौति हो ।
करिब एक महनिादेखि नियमनकारी निकाय बीमा समिति अध्यक्ष विहीन हुँदा बीमा कम्पनीका कयौँ काम ठप्प जस्तै रहे । अध्यक्ष नहँुदा कम्पनीहरूले नयाँ योजना जारी गर्न पाएका छैनन् । त्यस्तै, समयमा नै अध्यक्ष नियुक्त हुन नसक्दा कम्पनीहरूको साधारणसभा नै रोकियो । समितिमा स्वीकृतिका लागि पेश भएका कम्पनीहरूको वित्तीय विवरणहरू स्वीकृत हुन बाँकी छ । लामो समयदेखि रोकिएका कामलाई निरन्तरता दिने लगायतका काम नयाँ अध्यक्ष सामु थुप्रिएको छ।
राजनीतिक शक्तिका आधारमा नियुक्त हुँदा भएन योग्यताको कदर
बीमा ऐन विपरित सरकारले पटक पटक राजनीतिक शक्तिका आधारमा अध्यक्ष नियुक्त गर्दा योग्यताको कदर नभएको देखिन्छ । बीमा समितिको अध्यक्ष बन्नका लागि बीमा ऐनले तोकेको योग्यता हासिल गरेका व्यक्ति यति बेला निराश भएका छन् । त्यति मात्रै होईन सरकारले बीमा क्षेत्रलाई आवश्यक पर्ने दक्ष व्यक्ति गुमाएको छ । 
समितिमा अध्यक्षको पद खालि भए पछि नयाँ अध्यक्षका लागि दर्जनौँ आकाक्षी थिए । बीमा समितिको नयाँ अध्यक्ष बन्नका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीदेखि नेपाल राष्ट्र बैंकका निर्देशक डा.रामशरण खरेलसम्म अध्यक्षको आकांक्षी थिए । त्यस्तै, राष्ट्र बैंकबाट अवकाश प्राप्त कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला, चार्टर्ड एकाउन्टेट टंक पनेरु, पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं पनि अध्यक्षको दौडधुपमा लागि परेका थिए । साथै, बीमाविज्ञ डा. घिमिरे र समितिकै पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की समेत अध्यक्ष पदका लागि दौड धुपमा लागेका थिए ।
ऐनले तोकेको योग्यताअनुसार अध्यक्षका आकांक्षीमध्ये डा.रवीन्द्र घिमिरे र समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान् कार्की योग्य थिए । डा.घिमिरे बीमा विषयमा नै विद्यावारिधि गरेका व्यक्ति हुन् । घिमिरे पोखरा विश्वविद्यालयमा एसोसिएट प्राफेसर समेत छन् । त्यस्तै, कार्कीले समितिमा कार्यकारी निर्देशकको अनुभव बटुलेका थिए ।
घिमिरेलाई यस अघि पनि समितिको अध्यक्षका लागि अन्तिम तीन नम्बरमा सिफारिस गरिएको थियो । तर, यस अघि पनि राजनैतिक शक्ति कै कारण बीमा क्षेत्रमा कुनै पनि ज्ञान हासिल नगेरेका राष्ट्र बैंकका कर्मचारी चिरञ्जीवि चापागाईलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
बीमा ऐनले व्यवस्था गरेको प्रावधान अनुसार समितिको अध्यक्ष बन्नका लागि योग्य कहलिएका घिमिरे र कार्कीको योग्यताको कदर नभएको देखिएको हो । योग्यता र दक्षताको विरलै कदर हुने देश नेपालमा नियमनकारी निकाय बीमा समितिको अध्यक्ष नियुक्त गर्दा पटक पटक योग्यताको कदर नभएको पाईन्छ । बीमा नबुझेको व्यक्ति समितिको अध्यक्ष बन्दा बीमा क्षेत्र कसरी अघि बढ्ला ? बीमा बजारमा समस्या सृजना नहोलान् भन्न सकिदैन ।
बीमासँग सम्बन्धित सरोकारवालाहरुले रिक्त रहेको अध्यक्ष पदमा बीमासँग सम्बन्धीत व्यक्ति नै नियुक्त गरिनुपर्ने आवाज उठाउँदै आएका थिए । बीमालाई बुझेको, यस क्षेत्रलाई स्पष्ट दिशा दिन सक्ने खालको व्यक्तिलाई अध्यक्ष नियुक्त गरिनु पर्ने आवाज उठ्दै आए पनि राजनीतिक शक्तिका आधारमा नियुक्त गरिदा सरोकारवालाहरुको आवाज सुनुवाई भएको देखिदैन।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया