सिटिजन्स सन्तुलित योजनामा अपेक्षाभन्दा बढी आवेदन


काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एक अर्ब रुपैयाँ आकारको चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा बढी आवेदन परेको छ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी उक्त योजनाको इकाई बिक्रीका लागि २०८२ साल पौष ४ गतेदेखि पौष १८ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री खुला गरिएकोमा प्रारम्भिक विवरणअनुसार सो अवधिभित्र सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी अर्थात् माग गरिएकोभन्दा करिब २५ प्रतिशत बढी रकमका लागि आवेदन परेको कम्पनीले जनाएको छ।

यससँगै सिटिजन्स क्यापिटल लिमिटेडबाट सञ्चालन भएका म्युचुअल फण्ड योजनामध्ये यो योजना पनि बढी आवेदन प्राप्त गर्ने सफल योजनामध्ये एक बन्न पुगेको छ। योजनाप्रति देखिएको आम लगानीकर्ताको आकर्षण तथा उल्लेखनीय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपालको पूँजी बजारमा एक दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्था का रूपमा स्थापित गराएको कम्पनीको भनाइ छ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीका रूपमा सञ्चालनमा रहेको सिटिजन्स क्यापिटल लिमिटेडमा कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको समेत लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्।

सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापन तथा डिपोजिटरी सेवा, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभूति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धन, सेयर रजिष्ट्रार सेवा तथा संस्थागत परामर्श सेवा जस्ता विविध सेवाहरू प्रदान गर्दै आइरहेको छ।

कम्पनीले आगामी दिनहरूमा पनि पारदर्शिता, सुशासन र लगानी जोखिम व्यवस्थापनमा निरन्तर सुधार गर्दै प्रविधिमैत्री तथा लगानीमैत्री सेवामार्फत लगानीकर्तालाई अझ विश्वसनीय र प्रतिस्पर्धी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, निकट भविष्यमा विभिन्न प्रकृतिका सामूहिक लगानी कोषका नयाँ योजनाहरू सञ्चालन गर्नुका साथै हाल सञ्चालनमा रहेका योजनाहरूमा उच्च प्रतिफल दिलाउने उद्देश्यका साथ सक्रिय रूपमा कार्य गर्दै जाने जनाएको छ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  ११ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।