काठमाडौं । रास्वपामा उपसभापति भएसँगै आलोचना भएपछि ऊर्जामन्त्री कुलमान घिसिङले अन्तत: पदबाट राजीनामा दिएका छन् । उनले केहीबेरअघि प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । कार्कीले आफ्नो सरकारमा दलका प्रतिनिधि नभई गैरदलीए हुने बताउँदै आएकी थिइन् । तर घिसिङ विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक हुँदै आफ्नै संरक्षकत्वमा उज्यालो नेपाल पार्टी दर्ता गराएका थिए । उनी त्यसमा सदस्य नभएकाले मन्त्री बनाइएको थियो । तर घिसिङले १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग उपसभापतिको सहमति गरी एकता गरे । त्यसपछि उनले राजीनामा दिनुपर्ने आवाज उठिरहेको थियो ।
प्रधानमन्त्री कार्कीले यसबारे सोध्दा उनले आफू अहिलेसम्म कुनै पनि पार्टी सदस्य नभएको भनेर टार्दै आएका थिए । उनीसँगै सञ्चारमन्त्री जगदिश खरेल र खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ ।











प्रतिक्रिया