आइजीआई प्रुडेन्सियलको २८औँ वार्षिक साधारण सभा सम्पन्न


काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शालमा सम्पन्न भएको छ। सभामा अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति र व्यवसायलाई जोखिमबाट जोगाउने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै कम्पनीले बीमा बजारलाई स्वच्छ, पारदर्शी र भरपर्दो बनाउन निरन्तर योगदान दिँदै आएको बताए।

सभाले समीक्षा वर्षका लागि चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। साथै, कम्पनीको पानीपोखरीस्थित आफ्नै जग्गामा निर्माण सम्पन्न भएको ११ तल्ले भवनबाट आगामी माघभित्र प्रधान कार्यालय सञ्चालन गर्ने जानकारी दिइयो। आवश्यक तल्ला प्रयोग गरी बाँकी तल्ला भाडामा लगाई आम्दानी गर्ने योजना समेत सार्वजनिक गरियो।

प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले सातै प्रदेशमा रहेका ९० शाखामार्फत ५३१ कर्मचारी, ४३० अभिकर्ता र १९२ सर्भेयरको सहकार्यमा सेवा प्रदान गरिरहेको जानकारी गराए । समीक्षा वर्षमा कम्पनीले ३ अर्ब ८६ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गर्दै उल्लेखनीय प्रगति गरेको र कर बापत ७९ करोड रुपैयाँ भन्दा बढी योगदान गरेको बताइयो।

सभामा कम्पनीले स्वास्थ्य बीमा तथा विदेशी पर्यटक लक्षित नयाँ बीमा योजनामार्फत सेवा विस्तार गरेको जानकारी पनि दिइयो। अन्त्यमा अध्यक्ष ढकालले शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै कम्पनीलाई अझ सबल र विश्वासिलो बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २४ पुस २०८२, बिहिबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।