‘लोडसेडिङ अन्त्य भई मुलुक विद्युत् निर्यात गर्ने अवस्थामा’ -प्रधानमन्त्री

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन् । साथै प्रधानमन्त्री ओलीले सोही आयोजनाअन्तर्गत कुश्मा नगरपालिका-२ खुर्कोटस्थित २२०/१३२ केभी र म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानास्थित २२०/१३२/३३ केभी सबस्टेसनको पनि उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रसारण लाइन र दुई सबस्टेसनको बिहीबार काठमाडौंबाट भर्चुअल विधिमार्फत उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रमलाई भर्जुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकबाट लोडसेडिङ अन्त्य भई नेपाल विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताए । विद्युत् उत्पादन र प्रसारणतर्फका निर्माणाधीन आयोजनाहरु सम्पन्न भएपछि नेपाल छिमेकी देशहरुलाई विद्युत् बिक्री गरी आय आर्जन गर्न सक्षम हुने उनले बताए ।

कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण सुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ ।

कामु कार्यकारी निर्देशक शाक्यले कालीगण्डकी नदी बेसिनमा निर्माणधीन र आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइनको पूर्वाधार तयार भएको बताए । उनले दोस्रो खण्डको निर्माणलाई पनि तिब्रता दिन हरसम्भव प्रयास भैरहेको उल्लेख गरे ।

३९.६ किलोमिटर लम्बाइ भएको पहिलो खण्डको प्रसारण लाइनमा ११० वटा टावरहरु रहेका छन् । प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ४० मेगावाटको रघुगंगा जलविद्युत आयोजनाले निर्माण गर्ने ४ वटासहित यस खण्डमा ११४ वटा टावरहरु रहने छन् ।

दाना दाना सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा र १ वटा २५ एमभीएको एउटा पावर ट्रान्सफर्मरहरु जडान भएका छन् । खुर्कोट सवस्टेशनमा ३३.३३ एमभीएका तीन वटा गरी १००/१०० एमभीएका ट्रान्सफर्मरहरु जडान भएका छन् । यी सबस्टेसनहरुमार्फत त्यस क्षेत्रमा पनि विद्युत् वितरण गरिने छ ।

प्रधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत अगाडि बढाइएको आयोजनाको पहिलो खण्ड र सबस्टेसनहरु निर्माणका लागि टाटा प्रोजेक्ट र चिन्ट इलेक्ट्रिक कम्पनीको संयुक्त उपक्रम (जेभी)सँग २ अर्ब ७४ करोड रुपैयाँमा २४ अप्रिल २०१६मा ठेक्का सम्झौता भएको थियो । कम्पनीले ३० मे २०१६ बाट निर्माण सुरु गरेको थियो । आयोजनाको परामर्शदाता पावर ग्रिड कर्पोरेसन अफ इन्डिया रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।