काठमाडौँ । ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ नामक सामूहिक लगानी कोषले आफ्ना इकाइहरु आजदेखि सर्वसाधारण तथा संस्थापक लगानीकर्ताका लागि बिक्रीमा ल्याएको छ ।
यसको कोष प्रवद्र्धकमा जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छ भने योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड छ ।
नेपाल धितोपत्र बोर्डले गत पुस १३ गते प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशत इकाइ, जसमध्ये १४ प्रतिशत अर्थात् २ करोड २४ लाख इकाइ कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेडका लागि सुरक्षित गरी बाँकी रहेको कुल १३ करोड ६० लाख इकाइ सर्वसाधारणका लागि निष्काशनमा ल्याउन लागिएको हो ।
उक्त फन्डको न्यूनतम १०० इकाइका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड ६० लाख इकाइसम्म आवेदन दिन पाउने व्यवस्था छ । नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गतको यो पहिलो बन्दमुखी योजना हो । यसको अवधि इकाइ बाँडफाँट भएको मितिले १० वर्ष रहेको छ । फन्डको इकाइमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त योजनाको इकाइमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।
बिक्री खुल्ला भएको म्युचुअल फन्ड निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कोष प्रवद्र्घकलाई आईसीआरएएनपी–आईआर एए र योजना व्यवस्थापकलाई आईसीआरएएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ ।












प्रतिक्रिया