एमबी दुगड ग्रुपद्वारा ८१औँ वार्षिकोत्सवमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा करिब डेढ शताब्दीको गौरवशाली इतिहास बोकेको एम।बी। दुगड ग्रुपले आफ्नो स्थापनाको ८१औँ वर्ष प्रवेशको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। “तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा समूहका विभिन्न डिभिजन तथा शाखामा कार्यरत कर्मचारी, स्थानीय समुदाय, शुभेच्छुक र सामाजिक संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्त बैंक तथा क्युरा हेल्थको सहकार्यमा सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गरिएको हो। एकै दिनमा देशका सातै प्रदेशका विभिन्न स्थानमा सञ्चालन गरिएको कार्यक्रममा ५ सयभन्दा बढी रक्तदाताबाट उल्लेख्य मात्रामा रगत सङ्कलन गरिएको समूहले जनाएको छ। सङ्कलित रगत आपतकालीन अवस्थामा रहेका बिरामीको उपचारका लागि उपयोग गरिएको जानकारी दिइएको छ।

यस अवसरमा एमबी दुगड ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगपति मोतीलाल दुगडले सामाजिक उत्तरदायित्व समूहको मूल मूल्य भएको उल्लेख गर्दै मानव जीवन रक्षा जस्तो पवित्र कार्यमा सहभागी हुन पाउनु गौरवको विषय भएको बताए। उनले स्वास्थ्य, वातावरण संरक्षण र समाज सेवामा निरन्तर योगदान गर्ने समूहको प्रतिबद्धता दोहोर्‍याए।

समूहले विगत वर्षहरूदेखि नै वृक्षारोपण, स्वास्थ्य सचेतना, शिक्षा सहयोग तथा पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस्ता सामाजिक कार्यमार्फत देशको दिगो विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ एम।बी। दुगड ग्रुप आगामी दिनमा पनि जनकल्याणकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।