काठमाडौँ । यस वर्ष धानको कुल उत्पादन र उत्पादकत्व दुवैमा कमी आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आवमा धान खेती गरिएको क्षेत्रफल घट्दा कुल उत्पादन ४.२० प्रतिशतले घटेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को प्रारम्भिक अनुमान अनुसार धान उत्पादन, क्षेत्रफल र उत्पादकत्व तीनै सूचकमा गत वर्षको तुलनामा कमी देखिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत छ भने कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धान बालीले मात्रै करिब १२ प्रतिशत हिस्सा ओगटेको छ ।
चालु आव धान बाली भित्र्याइएको कुल क्षेत्रफल १३ लाख ७६ हजार ८७२ हेक्टर कायम भएको छ, जुन गत आव २०८१÷८२ को तुलनामा ३.८ प्रतिशतले न्यून हो ।
गत वर्ष १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान खेती गरिएको थियो । क्षेत्रफलमा आएको यो कमीसँगै कुल उत्पादनमा पनि ४.२० प्रतिशतले ह्रास आएको हो ।
गत वर्ष ५९ लाख ५५ हजार ४७६ टन धान उत्पादन भएकोमा यस वर्ष ५७ लाख ५ हजार १२६ टनमात्र उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रतिहेक्टर उत्पादकत्व पनि गत वर्ष ४.१९ टन भएकोमा १.१६ प्रतिशतले घटेर ४.१४ टनमा सीमित भएको छ ।
किन घट्यो उत्पादन ?
धान बाली क्षेत्रफल र उत्पादन घट्नुमा मन्त्रालयले बहुआयामिक कारण औँल्याएको छ । विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको आकर्षणले खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको छ भने कृषक धान बाली छाडेर फलफूल तथा नगदे बालीतर्फ आकर्षित हुनुलाई पनि एक कारण मानिएको छ ।
तराई तथा सहरी क्षेत्रमा बढ्दो आप्रवासनका कारण खेतीयोग्य जमिन खण्डीकरण भई औद्योगिक र अन्य भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुनाले धान खेती क्षेत्रफल घटेको छ ।
यसबाहेक मधेस प्रदेशमा धान लगाउने मुख्य समयमा परेको खडेरीले क्षेत्रफलमा ठूलो असर पारेको छ भने उन्नत बिउ र मलखाद उपलब्धता पर्याप्त हुँदाहुँदै प्रतिकूल मौसमका कारण उत्पादकत्वमा केही कमी आएको मन्त्रालयको जनाएको छ ।













प्रतिक्रिया