चुनावी उत्साहले तातियो शेयर बजार: नेप्से ४२ अंकले बढ्दा झण्डै १२ अर्बको कारोबार


काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा ठूलो उत्साह देखिएको छ। मुलुकमा चुनावी सरगर्मी बढेसँगै त्यसको सकारात्मक प्रभाव पूँजी बजारमा पनि परेको हो। मंगलबार नेप्से परिसूचक ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ। आइतबार पनि बढेर बन्द भएको बजार साेमबार सार्वजिनक विदाका कारण बन्द  रहेकाेमा मंगलबार झन् राम्रो गति समातेको हो।

मंगलबार बजारका १३ वटै उपसमूहका सूचकहरू बढेका छन्। सबैभन्दा धेरै होटल तथा पर्यटन क्षेत्र ३.३६ प्रतिशतले बढेको छ। बैंकिङ्ग, विकास बैंक, जलविद्युत र बीमा लगायतका अन्य क्षेत्रमा पनि १ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ।

अहिले मुलुकमा चुनावी माहोल तातिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने दिन हो। चुनावको समयमा बजारमा पैसाको बहाव बढ्ने भएकोले त्यसको असर पूँजीबजारमा पनि देखिएको हो

बजार बढेसँगै कारोबार रकममा पनि ठूलो सुधार आएको छ। आइतबार ८ अर्ब ४० करोडको कारोबार भएकोमा मंगलबार झण्डै १२ अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। मंगलबार १ लाख १५ हजार १८१ पटकको कारोबारमा २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयरहरु ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार रुपैयाँमा किनबेच भएका छन् ।

मंगलबार गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको शेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रति कित्ता ६१८.३० रुपैयाँ पुगेको छ। यस्तै आँखु खोला जलविद्युत र राप्ती हाइड्रोको मूल्य पनि करिब ८ प्रतिशतले बढेको छ।

मंगलबार कारोबार रकम ४५ खर्ब ५८ अर्ब २४ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।