काठमाडौँ । रसुवा जिल्लामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित क्षेत्रका घरपरिवारका सदस्यहरूको स्वरोजगार, रोजगारी तथा सीप अभिवृद्धि गर्दै स्थानीय जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम सुरु गरेको छ । आयोजनाबाट पहिलो चरणमा रसुवाको राम्चे, कालिकास्थानलगायतका गाउँका आयोजना प्रभावित ४० जनालाई तालिम प्रदान गर्न सुरु गरिएको छ ।
आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रा.लि.ले कालिका गाउँपालिकासँगको सहकार्यमा सञ्चालन गरेको उक्त तालिमको मंगलबार वडा नं १ कार्यालयमा आयोजित कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको छ । आयोजना प्रभावित घरपरिवारको आवश्यकता, माग तथा सम्भाव्यताको आधारमा २० जनालाई केयर गिभर र २० जनालाई होटल सञ्चालन सम्बन्धी तालिम प्रदान गर्न सुरु गरिएको हो ।
आगामी चरणमा आयोजनाबाट प्रभावित पालिका अन्य वडाहरूमा समेत क्रमशः तालिम कार्यक्रम विस्तार गरिनेछ । समग्रमा यस कार्यक्रममार्फत आयोजना प्रभावित समुदायका करिब ३७० जनालाई सीपमूलक तालिम दिने लक्ष्य राखिएको छ ।












प्रतिक्रिया