नेपालको वैदेशिक व्यापार : कूल निर्यातको कमाइले इन्धन आयात पनि धानेन


काठमाडौँ । सरकारले निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि विभिन्न नीतिहरु लागू गर्दै आएतापनि आयात–निर्यातको असन्तुलन कायमै छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांक केलाउदा नेपालको कूल निर्यातले इन्धन आयात पनि गर्न मुस्किल परेको छ ।

भन्सार विभागका अनुसार पुस महिनामा नेपालले वस्तु निर्यात गरेर एक खर्ब ४२ अर्ब एक करोड रुपैयाँ कमाएको छ। तर, सोही अवधिमा डिजेल, पट्रोल र खाना पकाउने ग्यास (एलपीजी) खरिद गर्दा एक खर्ब ४२ अर्ब ७५ करोड रुपैयाँ बिदेसिएको छ ।

निर्यातबाट कमाएको पैसाले मात्रै इन्धन खरिद गर्दा समेत ७४ करोड रुपैयाँ नपुग देखिएको छ । ६ महिनाको अवधिमा नेपालले सबैभन्दा बढी आयात गरेको वस्तु डिजेल हो । यस अवधिमा नेपालले ५८ अर्ब २७ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ।

त्यसैगरी, ३३ अर्ब रुपैयाँ बराबरको पेट्रोल र २७ अर्ब रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास भित्रिएको छ। चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ११ खर्ब ८१ अर्ब चार करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।