काठमाडौँ । आगामी फागुन २१ मा हुने निर्वाचनको सकारात्मक प्रभाव सेयर बजारमा परेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ अंकमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार कुल ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयरहरु १ लाख ३३ हजार ५२९ पटक किनबेच हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
आइतबार ३३१ कम्पनीको सेयर किनबेच भएको सेयर बजारमा २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घट्दा १ कम्पनीको सेयर मूल्य स्थीर रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबारमा आएका कम्पनी मध्ये एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इन्डस्ट्रीज र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, बन्दिपुर केवलकार र हिमस्टार उर्जा सेयर मूल्य धेरै बढ्नेको सूचीमा शीर्ष ५ मा परेका छन् ।
त्यसैगरी, आइतबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा पनि आँखुखोला हाइड्रो रहेको छ । आँखुखोला हाइड्रोको ४३ करोड ५९ लाख ३३ हजार रुपैयाँको सेयर किनबेच हुँदा ग्रीन भेन्चरको ३९ करोड ७७ लाख ५० हजार रुपैयाँको करारोबार सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा शिभम् सिमेन्ट रहेको छ । चौथो स्थानमा यूनाइटेड मोदी आइड्रोपावर र पाँचौ स्थानमा बन्दिपुर केबलकार रहेको छ ।
आइतबार सेयर बजारमा आएको चमकसँगै समग्र बजार पुँजीकरणमा पनि सुधार आएको छ । गत बिहीबार ४५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको समग्र बजार पुँजीकरण आइतबार ४६ खर्ब ५४ अर्ब रुपैयाँमा बढेको छ । बजारमा आएको सुधारसँगै समग्र बजार पुँजीकरण एक कारोबार दिनमा ९७ अर्ब रुपैयाँले बढेको हो ।












प्रतिक्रिया