काठमाडौँ । नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आइसिटी फ्रेमले टेक–एक्ससँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । नेपाली युवालाई सशक्त बनाउन उक्त आयोजना गर्न लागेको हो ।
“नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो राष्ट्रिय स्तरको प्रतिस्पर्धा आगामी शनिबार, २ मे २०२६ (१९ वैशाख २०८३) मा सम्पन्न हुनेछ।
यस प्रतिस्पर्धाको औपचारिक उद्घाटन लिबर्टी कलेजका प्रिन्सिपल डा। देवराज पनेरुले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै डा. पनेरुले आधुनिक शिक्षामा परियोजनामा आधारित सिकाइको महत्त्वमा जोड दिए। उनले भने, “उद्योगका लागि आवश्यक दक्ष स्नातकहरू उत्पादन गर्न र युवाहरूलाई आत्मविश्वासी प्रविधि नेता बन्न उत्प्रेरित गर्न यस्ता पहलहरू अपरिहार्य छन्।”
प्रतियोगिताको अवधारणात्मक रूपरेखा साइबर सुरक्षा विज्ञ तथा वान कभर प्रा.लि. का सिइओ चिरञ्जीवी अधिकारीले तयार पारेका हुन्। अधिकारीका अनुसार यो प्रतिस्पर्धाले विचारहरूको मूल्याङ्कन योग्यता, प्रभाव र दीर्घकालीन सम्भावनामा आधारित रहेर गर्नेछ, जसले विद्यार्थीहरूलाई कक्षाकोठाको सीमित घेराभन्दा बाहिरको वास्तविक व्यावसायिक संसारसँग जोड्ने काम गर्नेछ।
नेपाली प्रविधि क्षेत्रका उदीयमान युवाहरूले यस प्रतियोगितालाई आफ्नो करियरको कोसेढुङ्गाका रूपमा हेरेका छन्। प्रतिस्पर्धी टेक राज अवस्थीले यसलाई मौलिक विचार र अनुसन्धानलाई उद्योगको सीपसँग जोड्ने दुर्लभ अवसरको रूपमा चित्रण गरे।
त्यस्तै, मेघा मण्डलले आइटीपीसीले विद्यार्थी प्रोजेक्टको परिभाषा बदल्ने र अब प्रोजेक्ट ग्रेडका लागि मात्र नभई उपयोगिता र दिगोपनका लागि हुने बताए।
बिशेषजंग नेपाली, रियोना ढुंगेल र कुशल पाण्डे लगायतका युवाहरूले यो मञ्च समावेशी रहेको र यसले भूगोल वा शैक्षिक संस्थाको सीमाभन्दा माथि उठेर सबै सक्षम नेपाली आविष्कारकहरूलाई राष्ट्रिय पहिचान दिनेमा विश्वास व्यक्त गरे।
यो सहकार्यले नेपालको डिजिटल इकोसिस्टमलाई सुदृढ बनाउँदै युवा प्रतिभाहरूका लागि ‘लन्चप्याड’को काम गर्ने अपेक्षा गरिएको छ। सहभागिताका दिशानिर्देशहरू, विषयवस्तुहरू र निर्णयका मापदण्डबारे थप जानकारी आगामी दिनहरूमा आइसिटी फ्रेमको आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।












प्रतिक्रिया