काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय समावेशीकरण तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आरबीबी डिजिटल संसार मोबाइल बैंकिङ एपमार्फत ‘आरबीबी फोनलोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ। यो डिजिटल कर्जा सेवा एफ वन सफ्ट समूह अन्तर्गतको फोनलोन प्रा।लि। द्वारा प्रदान गरिएको हो, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा वितरण सुनिश्चित गर्दछ।
यस सेवामार्फत बैंकमा तलब बचत खाता रहेका योग्य ग्राहकहरूले हाललाई १ लाख रुपैयाँ सम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एपमार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन्। छिटो, सरल र सहज रूपमा औपचारिक कर्जा पहुँच विस्तार गर्ने उद्देश्यसहित सेवा सुरु गरिएको बैंकले जनाएको छ।
कर्जाको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका कर्जा दायित्व तथा कर्जा चुक्ता गर्ने व्यवहार समावेश छन्। ग्राहकहरूले १ महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दी अर्थात् ईएमआई मार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन्। साथै, पूर्वभुक्तानी सुविधा पनि उपलब्ध रहनेछ।
मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले आरबीबी डिजिटल संसार एपमार्फत प्रमाणित इमेल ठेगाना उपलब्ध गराई सेवा दर्ता गर्न सक्नेछन्। योग्य ग्राहकहरूले एपको ड्यासबोर्डबाटै कर्जा आवेदन दिन सक्नेछन् र स्वीकृतिपछि तुरुन्तै सेवा उपभोग गर्न सक्नेछन्।
उक्त सेवाको शुभारम्भ बैंकको ६१औँ वार्षिकोत्सव समारोहका अवसरमा नेपाल सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले गरेका हुन्। आरबीबी फोनलोन कर्जा सेवाका सम्बन्धमा उपभोक्ता बैंकिङ विभागका विभागीय प्रमुख भोलानाथ पौड्यालले भने, “आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान उपलब्ध गराउने हाम्रो उद्देश्य हो। प्रविधिको प्रयोगमार्फत वित्तीय सेवामा पहुँच विस्तार गर्नु बैंकको प्रमुख प्राथमिकता हो।”
आरबीबी फोनलोन सेवाको सुरुवातसँगै राष्ट्रिय वाणिज्य बैंकको डिजिटल बैंकिङ रूपान्तरणको यात्राले थप गति लिने विश्वास बैंकले व्यक्त गरेको छ।












प्रतिक्रिया