पुससम्ममा पौन दुई खर्बको धितोपत्र सूचीकृत, बोनस मात्रै ७ अर्ब धेरै

0
Shares

चालु आर्थिक वर्षको ६ महिनामा धितोपत्र बजारमा करिब दुई खर्बको थप धितोपत्र सूचीकृत भएका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनाको अवधिमा साधारण शेयर (आईपीओ), बोनस शेयर, डिबेन्चर र अन्य गरी कुल १ खर्ब ८१ अर्ब २५ करोड बराबरको धितोपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो ।

यस अवधिमा बोनस शेयर मात्रै ७ अर्ब २८ करोड बराबरको सूचीकृत भएको छ ।

यसैगरी १३ अर्ब ८३ करोड बराबरको साधारण शेयर सूचीकृत हुँदा २ अर्ब ५० करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचअल फण्डको इकाई, १ खर्ब ५० बराबरको विकास ऋणपत्र, ४ अर्ब बराबरको डिबेञ्चर गरी कुल १ खर्ब ८१ ऋर्ब २५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ७१.९० प्रतिशत रहेको छ । जलविद्युत कम्पनीको हिस्सा ६.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.७ प्रतिशत, होटेलको हिस्सा ०.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५ दशमलव ७ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्चेञ्जमा पुससम्ममा सम्ममा सूचीकृत ५ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य ५ खर्ब २५ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
पुससम्ममा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीहरुको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । ३७ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४-४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् ।

  • साढे २० अर्बको धितोपत्र निष्काशन गर्न अनुमति

समिक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले साढे २० अर्ब रुपैयाँको धितोपत्र जारी गर्न अनुमति दिएको छ । बोर्डले साधारण शेयर, हकप्रद, डिबेञ्चर र म्युचअल फण्डको इकाई गरी सो रकम बराबरको धितोपत्र जारी गर्न अनुमति दिएको हो ।

यस अवधिमा १० अर्ब ४६ करोड बराबरको साधारण शेयर, ६ करोड ६४ लाख बराबरको डिबेञ्चर, १ अर्ब ९६ करोड बराबरको हकप्रद शेयर र १ अर्ब ५० करोड बराबरको म्युचअल फण्डको इकाई गरी कुल २० अर्ब ५६ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।

  • एक वर्षमा एक हजार २३ अंकले बढ्यो नेप्से

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनासम्मको तथ्याङ्क अनुसार धितोपत्र बजार सूचक मापक नेप्से १ हजार २३ अंकले वृद्धि भएको छ ।

२०७६ पुस मसान्तमा १२६३.४ रहेको नेप्से सूचकाङ्क २०७७ पुस मसान्तमा १ हजार २३ अंकले बढेर २२८६.६ बिनदुमा पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । पछिल्लो ६ महिनामा मात्र नेप्से ९२४ अंकले बढेको हो ।

२०७७ पुस मसान्तमा धितोपत्र बजार पूँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा १२ खर्ब ८७ अर्बले बजार पूँजीकरणमा वृद्धि भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ माघ २०७७, सोमबार  १८ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।