काठमाडौँ । होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले जारी पूँजीको १० प्रतिशत बराबर ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्र अनुसार माध ४ देखि ८ गतेसम्म ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन संकलन गरिएको थियो। निष्काशन अवधिमा कुल ८१,७९७ जना आवेदकबाट १२,९३,०४० कित्ता शेयर खरिदका लागि आवेदन प्राप्त भएको थियो। जसमध्ये सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ६,६८९ जना आवेदकका १४७,२८० कित्ता बराबरका आवेदन रद्द भएपछि ७५,१०८ जना आवेदकबाट ११,४५,७६० कित्ता शेयरको अन्तिम आवेदन कायम भएको थियो।
आवेदन प्रशोधनका क्रममा दोहोरो हितग्राही खाता प्रयोग गरी ९ जना आवेदकबाट परेको १८ वटा आवेदनसमेत रद्द गरिएको छ। बाँकी योग्य ७५,०९० जना आवेदकहरूमध्ये गोलाप्रथाबाट ४०,००० जना आवेदकलाई १० कित्ताका दरले कुल ४ लाख कित्ता शेयर बाँडफाँड गरिएको छ।
बाँडफाँडको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा एनआईसी एशिया क्यापिटल लिमिटेडको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने जनाइएको छ।












प्रतिक्रिया