विदेशी लगानीका कम्पनीले सम्भाव्यता अध्ययन तथा पूर्व सञ्चालन खर्च भित्र्याउन स्वकृति लिनु नपर्ने

0
Shares

विदेशी लगानीमा स्थापना हुने कम्पनी तथा उद्योगको दर्ता, सम्भाव्यता अध्ययन तथा पूर्व सञ्चालन खर्च बापतको विदेशी मुद्रा भित्र्याउनका लागि केन्द्रीय बैंकको स्वकृति लिन नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउनका लागि सहजीकरण गर्दै विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ मस्यौदा तयार गर्दै पूर्व सञ्चालनका लागि आवश्यक रकम ल्याउने व्यवस्था सहज बनाएको हो ।

मस्यौदा अनुसार सम्भाव्यता अध्ययन तथा पुर्व सञ्चालन खर्चका लागि नेपाल स्थित प्रतिनिधिको बैंक खातामा विदेशी मुद्रा जम्मा गराइदिन सक्ने व्यवस्था गरेको छ । यसरी पूर्व सञ्चालन खर्चको रुपमा विदेशी लगानीमा स्थापना हुन लागेको कम्पनी तथा उद्योगको चुक्ता पुँजी २ प्रतिशत मात्र पठाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी वैदेशिक लगानी ल्याउन सम्बन्धित निकायवाट स्वीकृती पाएपछि नेपाल राष्ट्र बैंकको स्वीकृती अनिवार्य नहुने व्यवस्था मस्यौदामा छ । विदेशी लगानी स्वीकृत गर्ने निकायले अनुमती दिएपछि विदेशी मुद्रा नेपाल भित्र्याउन सकिन्छ । तर, यसरी भित्र्याएको रकमको जानकारी भने केन्द्रीय बैंकलाई दिनुपर्ने व्यवस्था मस्यौदामा रहेको छ ।

नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले सम्बन्धित कम्पनी तथा उद्योगको खातामा जम्मा गर्न सक्छन् । राष्ट्र बैंकले विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजान विदेशी मुद्राको सटहीमा पनि केही सहजीकरण गरेको छ । यो मस्यौद नेपाल राष्ट्र बैंकले पारित गरी लागू गरेपछि उद्योग विभागबाट स्वीकृत पाएका कम्पनीहरुले सोझै वैदेशिक ऋण नेपाल भित्राउन सक्छन् ।

राष्ट्र बैंकको स्वीकृति बिना नै कम्पनी उद्योगहरुले वैदेशीक ऋण नेपाल भित्रेयाउनका लागि ऋण लिने कम्पनी, उद्योग र ऋण दिने विदेशी लगानीकर्ताबीच सम्झौता भएको हुनपर्ने व्यवस्था गरेको छ । वैदेशिक ऋण नेपाल भित्राउने कम्पनी उद्योग दर्ता, कर चुक्ताको प्रमाणपत्र, कालोसुचीमा नरहेको प्रमाणपत्र, ऋण चुक्ता गर्ने आधार उद्योग विभागमा बुझाएपछि राष्ट्र बैंकको स्वीकृतिबिना नै वैदेशिक ऋण ल्याउन सकिने व्यवस्था मस्यौदामा रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १५ : २० बजे