ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा १३ लाख ३८ हजारले गरे आवेदन, ७.३६ गुणा शेयर माग

0
Shares

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख ३८ हजार जनाबाट २ अर्ब ३९ करोड रुपैयाँ बढीको शेयर माग भएको छ ।

कम्पनीको शेयर निष्काशन ताथ बिक्री प्रबन्धकमा बिओके क्यापिटलले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार १३ लाख ३८ हजार २३० वटा आवेदन मार्फत २ अर्ब ३९ करोड ३५ लाख ८७ हजार रुपैयाँ बराबरको २ करोड ३९ लाख ३५ हजार ८७० कित्ताका लागि आवेदन परेको हो । यो सर्वसाधारणबाट माग भएको शेयरको तुलनामा ७.३६ गुणा धेरै हो ।

बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत प्राप्त भएका केही आवेदनहरु प्रवृष्टि हुने क्रम रहेकाले अन्तिम तथ्याङ्कको संख्यामा वृद्धि हुनसक्ने क्यापिटलले जनाएको छ ।

हाइड्रोपावरले माघ २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणहरुबाट ३२ लाख ५१ हजार ६५२ कित्ता साधारण शेयरका लागि आवेदन माग गरेको थियो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी शेयर सर्वसाधारणमा जारी गरेको हो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तयि दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ ।

ग्रीन लाईफले दोलखाको मार्बु गाविसमा ४० मेगावाटको खानीखोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सो आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको कूल लागत झण्डै ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।

कमलपोखरी काठमाडौंमा प्रधान कार्यालय रहेको ग्रीनलाईफ हाइड्रोपावरमा संस्थापक समूहतर्फ जारी पूँजीको ८० प्रतिशत अर्थात एक अर्ब ४४ करोड रुपैयाँ पूँजी चुक्ता भैसकेको छ । आईपीओ पश्चात चुक्ता पूँजी एक अर्ब ८० करोड पुग्नेछ ।

ग्रीनलाईफ हाइड्रोपावर २०६६ असोज ४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट कम्पनीको रुपामा दर्ता भई २०७४ असार ९ गतेदेखि पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७७, मंगलबार  १७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।