तीन दिनमा ५२ हजारले घट्यो सुनको भाउ, चाँदीमा २३ सयको गिरावट


काठमाडौँ । पछिल्लो तीन दिन यता सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ । तीनदिनमा सुन तोलामा ५२ हजार ७०० रुपैयाँले घटेको छ । सोही समयमा चाँदीमा २ हजार ३०५ रुपैयाँको गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भई ऐतिहासिक विन्दुमा पुगेको सुनको भाउ निरन्तर ओरालो लागेको हो ।

यस्तै, सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो । बिहीबार प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएसँगै उच्च विन्दुमा पुगेको चाँदी लगातार गिरावट आएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६९१.१९ अमेरिकी डलर र चाँदी ७९.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।