सूर्यकुण्ड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले ५ करोड ७२ लाख ४३ हजार १०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५ लाख ७२ हजार ४३१ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: २१ माघ २०८२, बुधबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।