महिला लघुवित्तले निष्काशन गरेको प्राथमिक शेयरमा माघ ३० गतेबाट आवेदन खुलेको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कुल चार लाख कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५००० कित्ता शेयर संस्थाका कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानीकोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारलाई बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर वितरण हुनेछ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखी १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन् । आश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयर वेवसाइट र एप मार्फत आईपीओमा आवेदन गर्न सकिनेछ । कम्पनीको आईपीओमा माघ २८ गतेदेखी फागुन २ गतेसम्म आवेदन दिन पाइनेछ ।
न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा लघुवित्तको आईपीओ ३७ हजार ५०० जना लगानीकर्ताले मात्र हात पार्ने देखिन्छ । तसर्थ, महिलाको आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिए पर्याप्त हुनेछ ।
१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।
महिला लघुवित्त वित्तीय संस्थाका रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगामा रहेको छ । यसले २०७५ असोज २२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ कात्तिक १ गतेदेखि कारोबार सुरु गरेको थियो।
हाल यस लघुवित्तले २९ जिल्लाहरुमा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म महिलाले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८/७९ मा १२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०७९/८० मा १९ करोड ७० लाख ९३ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।
लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा तथा प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया