नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार नेप्से १०.२५ अंकले घटेर २६९८.४४ विन्दुमा कायम भएको छ ।

बजारमा आज ३३० कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ८५ कम्पनीका सेयरमूल्य बढेका छन् भने १६८ कम्पनीका सेयरमूल्य ओरालो लागेका छन् ।

आज सेयरबजारमा कुल २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता सेयर ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार रुपैयाँमा किनबेच भएका छन् । कारोबार रकम बिहीबारको तुलनामा ७ करोड ६९ लाख रुपैयाँले बढी हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये लगानी र अन्य समूहका परिसूचक मात्रै सकारात्मक रहेका छन् । बाँकी सबै समूहका परिसूचक घटेका छन् ।

बिहीबार नेप्से २७.१९ अंकले बढेर २७०८.७० अंकमा पुग्दा कारोबार रकम ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँ पुगेको थियो ।

आइतबार सुपर माई हाइड्रोपावर लिमिटेड, रिडी पावर कम्पनी तथा खानीखोला हाइड्रोेपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने कालिञ्चोक दर्शन लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक तथा नारायणी डेभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।