शेयर बजारमा सुधारको संकेत,लाभकरको विवाद कायमै रहदा कारोबार भने सुस्त

0
Shares

गत विहीबार र आइतबार लगातार दुई दिन दोहोरो अंकले घटेको शेयर बजारमा पछिल्लो सोमबार र मंगलबार भने सामान्य सुधार आएको छ । लाभकरको विवाद सुल्झन नसक्दा कारोबार सुस्त भएपनि बजारले सुधारको संकेत देखाएको छ ।

मंगलबार नेप्से सूचक ३.३९ अंकले बढेको छ । बजार सुध्रने आशमा शेयर माग बढेको पनि सस्तो मूल्यमा शेयर बिक्री गर्नेहरुको कमी हुँदा कारोबार रकम २९ करोड ४३ लाख रुपैयाँमा सिमित भएको छ। पूँजीगत लाभकर गणना विवदा साम्य नहुँदा पनि शेयर बिक्रीकर्ताहरुको कमी देखिएको छ ।

नेप्से सूचक मंगलबार ३.३९ अंकले बढेर १२५९.३७ विन्दुमा आइपुगेको छ । १७१ कम्पनीको २९ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १० लाख १३ हजार ७९४ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

यसदिन सबैभन्दा धेरै सिद्धार्थ बैंकको संस्थापक शेयर तीन करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल बैंकको एक करोड ५६ लाख रुपैयाँ, प्रभु बैंकको एक करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ।

कुल १२ वटा समूहको सेयर कारोबार भएकामा ४ वटा समूह तल झरेका छन् भने बाँकी समूहका सूचक माथि लागेका छन् । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै २२.८२ अंकले बढेको छ ।

२४० प्रतिशत हकप्रदपछि मूल्य समायोजन हुँदा युनाइटेड कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। कम्पनीको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ।

यसदिन नयाँ नेपाल लघुवित्त, नेपाल एग्रो लघुवित्त र स्पर्स लघुवित्तको सबैभन्दा धेरै बढ्ने क्रममा सर्किट लागेको छ । गत वर्षको आकर्षक वित्तीय विवरण निकालेका लघुवित्तको शेयरको माग बढ्दा भाउ बढेको छ । सबैभन्दा बढी युनियन हाइड्रोपावरको शेयर मूल्य ६.४१ प्रतिशतले घटेको हो । जसको शेयरमूल्य ७३ रुपैयाँमा झरेको छ ।