बैंकहरू किन घटाउँदै छन् विपन्न वर्गमा कर्जा प्रवाह ?


सुस्त अर्थतन्त्र, कर्जा असुलीमा समस्या तथा निष्क्रिय कर्जाको दबाबका कारण बैंक तथा वित्त कम्पनीहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जा घटाउँदै गएका छन् । चालु आवको पुषसम्ममा उनीहरूले दुई खर्ब ९१ अर्ब ७६ करोड ७० लाख रुपैयाँबराबरको कर्जा मात्रै विपन्न वर्गमा प्रवाह गरेका छन्‌ । जुन कुल कर्जाको ५.२९ प्रतिशत मात्रै हो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन तथा ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विपन्न वर्गमा प्रवाहित कर्जा गत आवको सोही अवधिको तुलनामा ०.६४ प्रतिशत अर्थात् १० अर्ब १५ करोड ९० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा उनीहरूले कुलमध्ये ५.९३ प्रतिशतका दरले हुन आउने तीन खर्ब एक अर्ब ९२ करोड ६० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

अर्थतन्त्रको सुस्तता, निजी क्षेत्रको खस्कँदो मनोबल, लगानीमैत्री वातावरणको अभाव जस्ता कारण समग्र कर्जा विस्तारमै समस्या आइरहँदा त्यसको असर विपन्न वर्गतर्फको कर्जामा पनि परेको हो । बैंकहरूले कर्जा विस्तार गर्दा प्राथमिकता अन्य क्षेत्रमा सारेको तथा विपन्न वर्गतर्फ आकर्षित नभएको जानकार बताउँछन् ।

बैंकहरू जोखिम कम हुने र प्रतिफलमूखी हुँदा विपन्न वर्ग क्षेत्रमा कर्जा विस्तारको हिस्सा घटेको हो । साना कर्जामा प्रशासनिक लागत बढी हुने, असुलीमा समस्या तथा चुनौति आउने, निष्क्रिय कर्जाको दबाब लगायतका कारण बैंकहरू विपन्न वर्ग कर्जातर्फ आकर्षित हुन नसकेका हुन् ।
असुलीमा समस्या बढेपछि बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा प्रवाह गर्ने कर्जाको आकार घटाएका हुन् । ऋण असुलीमा देखिएको गम्भीर समस्या र लघुवित्त क्षेत्रमा आएको मन्दीका कारण यस्तो कर्जाको आकार तीव्र रूपमा खुम्चिएको हो ।

२० वाणिज्य बैंकले चालू आवको पुस मसान्तसम्ममा ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र ५.२० प्रतिशतका दरले हुन आउने दुई खर्ब ५४ अर्ब १५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्‌ । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ०.५४ प्रतिशत अर्थात् चार अर्ब ४८ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले ४८ खर्ब सात अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ५.७४ प्रतिशत अर्थात् २ खर्ब ५८ अर्ब ६३ करोड ४० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले चालू आवको पुस मसान्तसम्ममा कुल ६ खर्ब ३२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा विपन्न वर्गमा मात्र कुल ६.०६ प्रतिशत अर्थात् ३१ अर्ब ५१ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्‌ ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा १.४१ प्रतिशत अर्थात् पाँच अर्ब ५८ करोड १० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ५ खर्ब १७ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा ७.४७ प्रतिशतका दरले हुन आउने ३७ अर्ब नौ करोड ५० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार वित्त कम्पनीहरूले चालू आवको पुस मसान्तसम्ममा कुल एक खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ५.९४ प्रतिशतका दरले हुन आउने ६ अर्ब नौ करोड ९० लाख रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा दिएका छन्‌ ।

यो कर्जा गत आवको सोही अवधिको तुलनामा १.११ प्रतिशत अर्थात् नौ करोड ८० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले १ खर्ब ३ अर्ब १६ करोड ८० लाख रुपैैयाँ कर्जा प्रवाह गर्दा ७. ०५ प्रतिशत अर्थात् ६ अर्ब १९ करोड ७० लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

अर्थतन्त्र सुस्तताको कारण सहज कर्जा नपाउँदा साना तथा मझौला क्षेत्र धरासायी बनेको जानकार बताउँछन् । यसले विपन्न वर्गलाई समेत नकारात्मक प्रभाव पारेको छ । बैंकरहरू राष्ट्र बैंकका कतिपय प्रावधानका कारण पनि यो क्षेत्रमा कर्जा विस्तार गर्न कठिनाइ हुने गरेको बताउँछन् ।

शिथिल अर्थतन्त्र र लघुवित्त वित्तीय संस्थाको कर्जा प्रवाहमा समेत समस्या आएपछि केही समयदेखि विपन्न वर्गमा जाने कर्जा घट्दै आएको छ । चालु आवमा ब्याजदर घट्दै गएको र बैंकमा लगानी योग्य रकम प्रशस्त रहेको अवस्थामा पनि निजी क्षेत्र तर्फको कर्जा विस्तार बढ्न सकेको छैन ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  १५ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।