वित्तीय प्रणालीमा अधिक तरलताको समस्या कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बिहीबार एक साता अवधिको २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ ।
वित्तीय प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेपनि कर्जा प्रबाह विस्तार हुन नसक्दा अधिक तरलताको समस्या देखिएको हो । बैंक वित्तीय संस्थाले कोरोनाका कारण कर्जा लगानी विस्तारमा समस्या आएपछि अधिक तरलताको समस्या बढ्दै गएको हो ।

केन्द्रीय बैंकले गत पुस २३ गते मात्र २० अर्ब रुपैयाँ बरावरको २८ दिने रिभर्स रिपो जारी गरेको थियो । केन्द्रीय बैंकले ०.२१८४ प्रतिशत औसत ब्याजदर कायम गरेर निष्काशन गरेको रिभर्स रिपो माघ २२ गते परिपक्क भएको थियो ।
केन्द्रीय बैंकले जारी गरेको ४२ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बिहीबार परिपक्क हुने भएकाले पनि बजारमा अधिक तरलता हुन नदिनका लागि २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो निष्काशन गर्न लागेको हो ।
निक्षेप उपकरण परिपक्क भएपछि वित्तीय प्रणालीको तरलता एक खर्ब भन्दा माथि पूग्ने भएकाले बिहीबार २० अर्ब खिच्न लागेको हो। बुधबारसम्म वित्तीय प्रणालीमा करिब ६६ अर्ब तरलता छ । निक्षेप संकलन उपरकण मार्फत खिचेको ४२ अर्ब परिपक्क हुँदा बजारमा एक खर्ब बढी तरलता रहने राष्ट्र बैंकले जनाएको छ ।
बिहीबार केन्द्रीय बैंकले २० अर्ब खिचेपछि पनि वित्तीय प्रणालमिा ८० अर्ब बढी अधिक तरलता रहने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए।
बजारमा देखिएको अधिक तरलता भनेको केन्द्रीय बैंकले दिएको पुनरकर्जाको रकम हो । केन्द्रीय बैंकले हालसम्म ८३ अर्ब रुपैयाँ पुनरकर्जा प्रदान गरिसकेको छ । गत पुसको मध्य तिर २ खर्ब रुपैयाँ भन्दा धेरै तरलता वित्तीय प्रणालीमा रहेको थियो । त्यो अधिक तरलता आयात बढेसंगै प्रशोचन भैसकेको भट्टको भनाई छ । यसले अर्थतन्त्र प्रि-कोभिडको अवस्थामा पर्कर्ने प्रयासमा रहेको पनि उनले बताए ।
रिभर्स रिपो जारी हुँदा बैंकहरुले प्रतिस्पर्धात्मक ब्याज दरमा केन्द्रीय बैंकलाई रकम उपलब्ध गराउँछन् । केन्द्रीय बैंकले सस्तो ब्याज दरलाई प्राथमिकता दिई बैंकहरुबाट रकम लिने गर्दछ । त्यसैले ब्याज दर जति कम कायम भयो, बैंकहरुसँग उति बढी अनावश्यक तरलता रहेको मानिन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया