सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी पूँजा’ बीमा योजना सार्वजनिक

0
Shares

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले ‘सूर्या चौरासी पूँजा’ जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना शुक्रबारदेखि संचालनमा ल्याएको हो ।

शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्राण्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रुपमा यस बीमा योजनाको अनावरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले दुई वर्ष अवधिको लामो समय पछि यस्तो खालको बीमा योजना ल्याउन सफल भएको बताए । उनले मौलिकतामा आधारित भई यस प्रकारको बीमा योजना बजारमा ल्याएको जानकारी दिए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले यस योजनाले न्यूनतम बीमा शुल्कमा बीमितको अधिकतम जोखिम रक्षावरण गर्न सहयोग पुग्ने बताए ।

यता, कम्पनीका संस्थापक विवेक झाले नेपाली बीमा बजारमा बीमा योजनाको नक्कल गर्ने परिपाटिलाई अन्त्य गरिनु पर्ने बताए । बीमा कम्पनीहरुले नाम फरक तर विशेषता उही भएका बीमा योजनाहरु पस्कनु भन्दा पनि मौलिकतामा आधारित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले सूर्या लाइफले बीमा बजारमा नयाँ पोलिसी ल्याएकोमा खुसि व्यक्त गरे ।

कम्पनीले उक्त कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदन शान्तिनगरलाई सहयोग समेत गरेको छ ।

सूर्या चौरासी बीमा योजनाका विशेषता

सूर्या लाइफ चौरासी पूँजा बीमा योजनामा न्युनतम १६ वर्षदेखि अधिकतम ६० वर्ष उमेर समुहका व्यक्ति सरिक हुन सक्नेछन् । न्यूनतम एक लाख रुपैयाँदेखि आफ्नो आय श्रोतको आधारमा बीमालेख खरिद गर्न सकिन्छ । यस बीमा योजनामा बीमा शुल्क भुक्तानी अवधि १० देखि अधिकतम ६५ वर्षसम्मको रहेको छ ।

बीमा शुल्क भुक्तानी अवधि पछि एकमुष्ठ आर्जित बोनस प्राप्त हुने छ । आर्जीत बोनस लिएपछि आउने प्रत्येक बीमा वार्षिकोत्सवमा ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत रकम नियमित प्राप्त हुनेछ । साथै, बीमितले ८३ वर्ष पुगेपछि एकमुष्ठ बीमाङ्कको १५० प्रतिशत प्राप्त गर्नेछन् ।

बीमितले बीमाशुल्क भुक्तानी अवधि पछि बीमाङ्कको ९० प्रतिशतसम्म ऋण सुविधा लिन सक्ने छन् । बीमाशुल्क भुक्तानी अवधि पछि समर्पण गर्न चाहेमा पुरा बीमाङ्क नै प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एकल भुक्तानी अन्तर्गत पनि यो बीमा योजना लिन सक्ने सुविधा रहेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।