तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य उकालो लाग्दै, द्वन्द्व लम्बिए मूल्य १०० डलर नाघ्न सक्ने


काठमाडौँ । तेल र ग्यासको अन्तर्राष्ट्रिय मूल्य बढ्न थालेको छ । अमेरिका, इजरायल र इरानको द्वन्द्वले ग्यासको मूल्य तीव्र रूपमा बढेको हो ।

सोमबार प्राकृतिक ग्यासको मूल्य झण्डै ५० प्रतिशतले बढेको छ। विश्वव्यापी मापदण्ड मानिने ब्रेन्ट कच्चा तेलको मूल्य सोमबार १० प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलरभन्दा माथि पुगेको थियो । यो वृद्धि स्ट्रेट अफ हर्मुज नजिक कम्तीमा तीनवटा जहाजमाथि आक्रमण भएपछि भएको हो ।

एक कतार इनर्जीले आफ्ना संरचनामा सैन्य आक्रमण भएपछि उत्पादन रोकेको बताएको छ । विश्वका सबैभन्दा ठूला निर्यातकर्ता कतार इनर्जी एक हो ।

इरानले आफ्नो दक्षिणी भागस्थित जलमार्गबाट जहाजहरू नजान चेतावनी दिएको छ । विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही बाटो हुँदै ढुवानी हुन्छ । लन्डनमा, एफटीएसई १०० सूचकांक १ प्रतिशतले घट्यो । मध्यपूर्वी आकाशमार्ग अवरुद्ध भएपछि ब्रिटिश एयरवेजको मालिक कम्पनीका सेयरहरू सबैभन्दा बढी घटे । बार्कलेज, स्ट्यान्डर्ड चार्टर्ड र एचएसबीसी जस्ता बैंकहरूको सेयर मूल्य पनि घटेको छ ।

ऊर्जा मूल्य दीर्घकालीन रूपमा बढिरहेमा मुद्रास्फीति बढ्ने र त्यसले केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम हुने चिन्ताले बजार प्रभावित भएको हो ।

युरोपका प्रमुख सेयर बजारहरूमा अझ ठूलो गिरावट देखिएको छ । अनिश्चितताका बेला सुरक्षित लगानी मानिने सुनको मूल्य २ प्रतिशतले बढेर प्रति औँस पाँच हजार ३८८ डलर पुगेको छ ।

राज्य स्वामित्वमा रहेको कतार इनर्जीले लाफान औद्योगिक क्षेत्रमा रहेको आफ्नो संरचनामा इरानबाट प्रक्षेपित ड्रोनले निशाना बनाएपछि तरल प्राकृतिक ग्यास उत्पादन रोकेको जनाएको छ । कतारको रक्षा मन्त्रालयका अनुसार मेसाइइदस्थित एक विद्युत् केन्द्रको पानी ट्यांकीमा पनि ड्रोन आक्रमण भएको थियो ।

छिमेकी साउदी अरेबियामा ड्रोन आक्रमणपछि रास तनुरास्थित आफ्नो प्रमुख तेल प्रशोधन केन्द्र अस्थायी रूपमा बन्द गरेको छ ।

अन्तर्राष्ट्रिय ढुवानी लगभग हर्मुज प्रवेशद्वारमा ठप्पजस्तै भएको छ । विश्लेषकहरूले लामो समयसम्म द्वन्द्व जारी रहे ऊर्जा मूल्य अझै बढ्नसक्ने चेतावनी दिएका छन् ।

प्रारम्भिक वृद्धिपछि ब्रेन्ट कच्चा तेलको मूल्य घटेर ७९ डलरमा झरेको थियो भने अमेरिकी बजारमा कारोबार हुने तेल ७.६ प्रतिशतले बढेर ७२.२० डलर पुगेको छ ।

एमएसटी मार्कीका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिकले बीबीसीसँग भनेका छन्, ‘बजारमा आतंक फैलिएको छैन । अहिलेसम्म तेल ढुवानी र उत्पादन पूर्वाधार कुनै पक्षको मुख्य निशाना बनेको छैन ।’ तर केही विश्लेषकहरूले द्वन्द्व लम्बिए मूल्य १०० डलर नाघ्नसक्ने चेतावनी दिएका छन्, जसले मुद्रास्फीति र ब्याजदरमा असर पार्नसक्छ । बीबीसी

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  ०८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।