जीवन बीमा कम्पनीद्धारा साढे ७४ अर्ब बीमाशुल्क संकलन, माघमा ११ अर्ब

0
Shares

जीवन बीमा कम्पनीहरुले चालु आवको ७ महिनासम्ममा साढे ७४ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आवको माघ मसान्तसम्ममा ७४ अर्ब ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आवको माघ मसान्तसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २० अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफ एक्लैको बीमा संकलनको हिस्सा जीवन बीमा इन्डष्ट्रिजकै २७.३५ प्रतिशत छ । कम्पनीले माघ महिनामा मात्रै ३ अर्ब रुपैयाँ बीमा शुल्क उठाउन सफल भएको छ ।

दोस्रो ठूलो बीमाशुल्क लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले संकलन गरेको छ । कम्पनीले १० अर्ब ३९ करोड रुपैयाँ संकलन गरेको हो ।

समितिको तथ्यांक अनुसार माघ मसान्तसम्ममा एलआईसीपछि नेशनल, राष्ट्रिय बीमा संस्थान, युनियन, एशियन, मेट लाइफ, सूर्या र प्राइम, इन्स्योरेन्सले धेरै बीमा शुल्क संकलन उठाउन सफल भएका छन् । यी कम्पनीले साढे २ अर्ब रुपैयाँदेखि ६ अर्ब रुपैयाँसम्म बीमा शुल्क संकलन गरेका हुन् ।

नेशनल लाइफले ६ अर्ब ९४ करोड, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब २० करोड, युनियनले ३ अर्ब ९९ करोड, एशियनले ३ अर्ब ६७ करोेड, मेट लाइफले ३ अर्ब ३ लाख, सूर्याले २ अर्ब ७५ करोड र प्राइमले २ अर्ब ६९ करोड, र गुँरास लाइफ इन्स्योरेन्सले २ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क संकलन उठाउन सफल भएका छन् ।

  • सात कम्पनीको एक अर्ब धेरै, दुईको कम

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ७ कम्पनीले एक अर्ब रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । दुई कम्पनीको एक अर्बभन्दा कम रहेको छ ।

यस अवधिमा सिटिजन, ज्योति, रिलायबल, रिलायन्स, आईएमई, सन नेपाल र सानिमा लाइफले १ अर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका हुन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफले भने अर्ब भन्दा कम अर्थात क्रमशः ८२ करोड र ५५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

  • माघमा मात्रै ११ अर्ब रुपैयाँ संकलन

चालु आर्थिक वर्षको सातौं महिना अर्थात माघ महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा पनि नेपाल लाइफले सबैभन्दा धेरै धेरै बीमा शुल्क संकलन गरेको छ । कम्पनीले माघ महिनामा ३ अर्ब रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, नेपाल लाइफ पछि एलआइसी नेपाल र नेशनल लाइफले १ अर्ब भन्दा माथि बीमा शुल्क संकलन गरेका छन् ।

यु्नियन लाइफ, प्राइम लाइफ, र एशियन लाइफले माघमा ५० करोड रुपैयाँभन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । अन्य १३ जीवन बीमा कम्पनीले ९ करोडदेखि ४८ करोड रुपैयाँसम्म बीमाशुल्क संकलन गरेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।