चलचित्र ‘आबाट आमा’ को कमाइमा चुनावको धक्का, गत साता करिब १ करोड कमाइ गरेकोमा यो साता ४३ लाखमा सीमित


काठमाडौँ । चलचित्र ‘आबाट आमा’ को कमाईमा चुनावको धक्का लागेको छ । चलचित्रले गत साता करिब ९९ लाख ३१ हजार रुपैयाँ कमाई गरेकोमा यो साता ४३ लाख ५२ हजार रुपैयाँ मात्र कमाई गरेको हो ।

चलचित्र विकास बोर्डले ४ नेपाली चलचित्रको कमाइ सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनले फागुन २३ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।

चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र आबाट आमा, कुमारी, रमिताको पिरती र प्रवासी जीवनको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले हालसम्म ४ लाख ८२ हजार ६४७ वटा टिकट बिक्री गर्दै १२ करोड ६६ लाख ९० हजार रुपैयाँ कलेक्सन गरेको हो । हरेक साता करोड माथि व्यापार गर्दै आएको उक्त चलचित्रले चुनावी चहलपहलका कारण यो साता आधा करोड पनि व्यापार गर्न नसकेको बोर्डको तथ्यांकले प्रष्ट पारेको छ ।

त्यसैगरी, कमाइको हिसाबले दोस्रो स्थानमा चलचित्र ‘कुमारी’ रहेको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म ६५ लाख रुपैयाँ कमाई गरेको छ । सो चलचित्रले हालसम्म २० हजार २२७ वटा टिकट बिक्री गरेको हो । चलचित्र दिनेश राउतले निर्देशन गरेका हुन् ।

त्यसैगरी, माघ २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रमिताको पिरती’ले ९ हजार ५६४ टिकटबाट ३० लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र सुदिप्ताको निर्देशनमा बनेको हो ।

त्यस्तै, चलचित्र प्रवासी जीवनले ५०९ वटा टिकट बिक्री गर्दै हालसम्म १ लाख ३८ हजार रुपैयाँ कमाइ गरेको छ । फागुन १५ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्र श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार  १३ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।