हालसम्म समानुपातिकको कुल १ करोड ४ लाख ६२ हजार मत गणना, कसले कति पाए ?


काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी रहेको छ। पछिल्लो तथ्याङ्कअनुसार कुल १ करोड ४ लाख ६२ हजार ३३४ मतगणना सम्पन्न हुँदा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छ । उक्त पार्टी ५० लाख २२ हजार मतका साथ पहिलो स्थानमा रहेको छ ।

काठमाडौँ उपत्यकासहित बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र निर्वाचन क्षेत्रमा समानुपातिकतर्फको मतगणना पूर्ण रूपमा सम्पन्न भइसकेको छ। अन्य चारवटा प्रदेशका केही सीमित निर्वाचन क्षेत्रमा मात्र अब गणना जारी रहेको छ । आयोगको तथ्यांक अनुसार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको मतगणना सकिएको छ ।

त्यसैगरी बागमती प्रदेशका रसुवा, सिन्धुली, दोलखा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकमा गणना सकिएको छ। कर्णाली प्रदेशका दैलेख, कालिकोट, सुर्खेत, हुम्ला, जुम्ला, मुगु, सल्यान, जाजरकोट, डोल्पा र रुकुम पश्चिम तथा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, दार्चुला, डडेलधुरा, बझाङ, डोटी, कैलाली, अछाम, बैतडी र बाजुरामा पनि मतगणना कार्य समाप्त भएको छ ।

यता, कोशी प्रदेश अन्तर्गत इलाम–१, सुनसरी–२, भोजपुर–१ का साथै ओखलढुङ्गा र संखुवासभामा मतगणना जारी छ। प्रदेशका अन्य सबै जिल्ला र क्षेत्रमा गणना सकिएको छ ।

मधेश प्रदेशमा धनुषाका क्षेत्र नं १ र २, महोत्तरी–४ र सप्तरी–१ मा मतगणना चलिरहेको छ भने बाँकी सबै जिल्ला र क्षेत्रमा सम्पन्न भइसकेको छ । गण्डकी प्रदेशमा गोरखाको क्षेत्र नं १ र २ मा मात्र मतगणना जारी छ। कास्की, तनहुँ, लमजुङ लगायतका अन्य सबै जिल्लामा गणना सकिएको छ ।

लुम्बिनी प्रदेश यस प्रदेशमा बर्दिया–२ र नवलपरासी पश्चिम–१ मा मतगणना जारी रहेको छ। गुल्मी, दाङ, बाँके, रुपन्देही लगायतका बाँकी स्थानमा मतगणना सकिएको छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार  १२ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।