सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब एक करोड रुपैयाँ पुगेको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव २०८२\८३ को सात महिना (२०८२ माघसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो ।
गत माघ महिनामामा मात्र एक खर्ब ९८ अर्ब आठ करोड  रुपैयाँ बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३७ अर्ब ५० करोड  रुपैयाँ रहेको थियो ।
गत माघ मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई आठ अर्ब ८६ करोड पुगेको छ । यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब ८४ अर्ब २७ करोड  रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय नौ खर्ब ८६ अर्ब ३४ करोड  रुपैयाँ रहेको थियो ।
त्यस्तै, यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४५ हजार १५३ र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख २७ हजार ४२४ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहिबार  ०७ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।