लघुवित्त कम्पनीहरुको शेयरको माग उच्च, लाभकरको विवाद साम्य भएपछि लगानीकर्ता उत्साहित

0
Shares

केहि दिनयता उतारचढाब पूर्ण रहेको शेयरमा पूँजीगत लाभकरको विवाद साम्य भएपछि सुध्रने संकेत देखिएको छ । लाभकर गणना विधि र प्रक्रियाको बिषयलाई लिएर सरोकारवाला निकाय र लगानीकर्ताबिच विवाद उत्पन्न हुँदै आएको थियो ।

पटक पटकको छलफलपछि अर्थमन्त्रालयले सरोकारवाल निकाय र लगानीकर्ताको उपस्थितीमा विवाद मिलाएको हो । विवाद मिलेपछि लगानीकर्ता उत्साहति देखिएका छन भने बजारले पनि बढ्ने संकेत देखाएको छ ।

कम्पनीहरुका आकर्षक नाफाका विवरण सार्वजनिक भईरहेपनि शेयर बजारका लगानीकर्ता पर्ख र हेरकै अवस्थामा रहँदा कारोबारमा भने तिब्रता आउन सकेको छैन ।

बुधबार नेप्से ६.२६ अंकले सुधार भएको छ । १६९ वटा कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। ।

यसदिन ३७ करोड बराबरको शेयर किनबेच भयो । १३ लाख ६ हजार ७५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । नेपाल बैंकको सबैभन्दा धेरै २ करोड ८५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

विकास बैंकबाहेक नेप्सेमा कारोबार भएका सबै समूहका सूचक बढेका छन् । निर्जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै ५३.९६ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि २.०३ अंकले माथि लागेको छ ।

गत आर्थिक वर्षमा उच्चदरमा नाफा बढाएका लघुवित्त कम्पनीहरुको शेयरको माग उच्च देखिएको छ । जसले गर्दा १४ लघुवित्त कम्पनीहरुको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेर सर्किट लागेको छ । यो समूहको सूचक ५२ अंकले बढेको छ ।  युनियन हाइड्रोपावरको शेयर मूल्य बुधबार पनि ४ प्रतिशतले घट्दा ७० रुपैयाँमा ओर्लेको छ।

भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना विवाद समाधान भएको भन्दै लगानीकर्ताका संगठनहरुले खुशी व्यक्त गरेका छन् । लगानीकर्ताका पाँच वटा संगठनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी यसक्रममा सहयोग गर्ने सबैलाई उनीहरुले धन्यवाद दिएका छन् ।

अर्थ मन्त्रालयका राजस्व सचिवको पहलमा बुधबार बसेको सर्वपक्षीय बैठकले २०५८ सालदेखि २०७६ असार मसान्तसम्मको मूल्यलाई औसत लागत कायम गरी आधार मूल्य (लागत मूल्य) कायम गर्ने सहमति भएको हो ।