बीमा कम्पनीका कर्मचारीलाई ५९ करोड बोनस

0
Shares

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा कर्मचारीहरुलाई ५९ करोड रुपैयाँ बोनस छुट्टाएका छन् ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका ३८ बीमा कम्पनीले बोनस ऐन अनुसार ५९ करोड १५ लाख ६० हजार रुपैयाँ बोनस कर्मचारीहरुलाई छुट्टाएका हुन् । जसमध्ये जीवन बीमा कम्पनीका कर्मचारीलाई २८ करोड ६ लाख र निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुले ३१ करोड ९ लाख रुपैयाँ बोनस पाएका हुन् ।

कुनैपनि आर्थिक वर्ष सकिएपछि कम्पनीहरुले साधारण सभा सम्पन्न गरी कर्मचारीलाई छुट्याएको बोनस वितरण गर्ने गर्छन् । बोनस ऐन २०३० मा कुनै पनि प्रतिष्ठानले कर्मचारीलाई वितरण गर्नुपर्ने बोनस खुद नाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ । सोही व्यवस्था बमोजिम बीमा कम्पनीहरुले बोनस वितरण गरेका हुन् ।

सञ्चालनमा रहेका १९ वटै जीवन बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरुले यस अवधिमा २ अर्ब ४६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

निर्जीवन बीमा कम्पनी तर्फ भने १९ कम्पनीले मात्रै चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । यस अवधिमा यी कम्पनीले २ अर्ब ८ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्सले भने आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

  • १९ जीवन बीमा कम्पनीका ५ हजार कर्मचारीलाई २८ करोड बोनस

चालु आवको दोस्रो त्रैमासको अवधिमा १९ जीवन बीमा कम्पनीले कर्मचारीलाई २८ करोड ६ लाख रुपैयाँ बोनस वितरण गरेका छन् ।
बीमा समितिले उपलब्ध गराएको पुसमसान्तसम्मको तथ्यांक अनुसार जीवन बीमा कम्पनीका १ हजार ९३० शाखा कार्यालयमा ५ हजार ७०६ जना कर्मचारी कार्यरत छन् ।

गत आव २०७६/७७ को ६ महिनामा २२ करोड ५३ लाख ५० हजार रुपैयाँ कर्मचारी बोनस वितरण गरेका जीवन बीमा कम्पनीहरुले चालु आवको यसैअवधिमा २८ करोड ६ लाख ४४ हजार रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेका छन् । समीक्षा अवधिमा जीवन बीमा कम्पनीका कर्मचारीहरुकोऔषत बोनस २४.५४ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा राष्ट्रिय बीमा संस्थान, युनियन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सको कर्मचारीहरुको बोनस रकम घटेको छ ।

  • १९ निर्जीवन बीमा कम्पनीका ४ हजार कर्मचारीलाई ३१ करोड बोनस

चालु आवको दोस्रो त्रैमासको अवधिमा १९ निर्जीवन बीमा कम्पनीले कर्मचारीलाई ३१ करोड ९ लाख रुपैयाँ बोनस वितरण गरेका छन् ।
सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीले ९१६ वटा शाखा कार्यालयमा कार्यरत ४ हजार ८६५ जना कर्मचारी लाई सो रकम कर्मचारी बोनस वापत वितरण गरेका हुन् ।

गत आव २०७६/७७ को ६ महिनामा २३ करोड ५४ लाख ५२ हजार रुपैयाँ कर्मचारी बोनस वितरण गरेका निर्जीवन बीमा कम्पनीहरुले चालु आवको यसैअवधिमा ३१ करोड ९ लाख १६ हजार रुपैयाँ कर्मचारीलाई बोनस वितरण गरेका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीका कर्मचारीहरुको औषत बोनस ३२.०५ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा ओरियन्टल, राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्सको कर्मचारीहरुको बोनस रकम घटेको छ ।

यस तथ्यांकमा नेशनल इन्स्योरेन्सको तथ्यांक समावेश छैन । नेशनल इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेका कारण तथ्याङ्क समावेश नगरिएको हो । गत आवको सोही अवधिमा यी कम्पनीले कर्मचारीलाई २८ करोड रुपैयाँ बोनस दिएका थिए ।

  • धेरै बोनस दिनेमा जीवनतर्फ नेपाल लाइफ, निर्जीवनतर्फ नेको

जीवन बीमा कम्पनीतर्फ कर्मचारीलाई सबैभन्दा धेरै बोनस नेपाल लाइफले दिएको छ । नेपाल लाइफले यस अवधिमा ५ करोड ४० लाख रुपैयाँ बोनस दिएको हो ।

नेपाल लाइफले १९७ शाखा कार्यालयमा कार्यरत ६२८ जना कर्मचारीलाई सो रकम बराबरको बोनस दिएको हो । गत आवको सोही अवधिमा कम्पनीले कर्मचारीलाई ४ करोड ४७ लाख रुपैयाँ बोनस दिएको थियो । इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता, १९ निर्जीवन बीमा कम्पनीमध्ये कर्मचारीलाई सबैभन्दा धेरै बोनस दिने निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले यस अवधिमा ६४ वटा शाखा कार्यालयमा कार्यरत ४०० जना कर्मचारीलाई ३ करोड ७७ लाख रुपैयाँ बोनस दिएको छ । गत आवको सोही अवधिमा कम्पनीले ७ करोड रुपैयाँ बोनस वितरण गरेको थियो ।

नेको पछि शिखर इन्स्योरेन्सले कर्मचारीलाई वितरण गरेको रकम अन्य कम्पनीको भन्दा धेरै छ । शिखरले यस अवधिमा ३ करोड ४४ लाख रुपैयाँ बोनस वितरण गरेको छ । कम्पनीले १०३ वटा शाखा कार्यलयमा कार्यरत ६०२ कर्मचारीलाई उक्त रकम वितरण गरेको हो । गत आवको सोही अवधिमा शिखरले कर्मचारीहरुलाई ३ करोड ८ लाख रुपैयाँ बोनस वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।