राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो ।

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो ।

यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ ।

केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजकर लाग्नेछ ।

विवरणअनुसार प्रतिस्पर्धीलाई आठ अर्ब ५० करोड र अप्रतिस्पर्धीलाई एक अर्ब ५० करोड छुट्याइएको छ । घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।

ऋणपत्र खरिद गर्न चाहने व्यक्ति वा संस्थाले बोलकवोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलकबोलको रुपमा मात्र भग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाले अप्रतिस्पर्धी बोलवाल हुन पाउँदैनन् ।

राष्ट्र बैंकका अनुसार बोलकबोल मार्फत आएका आवेदनका आधारमा कट आफ रेट निर्धारण गरेर ब्याजदर निर्धारण गरिन्छ । वित्तीय प्रणालीमा अधिक तरलताका कारण घट्दो क्रममा रहेको ब्याजदरका कारण विकास ऋणपत्रको कटअफ रेट पनि कम तय हुने देखिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।