सुनको आयात कोटा वृद्धि गर्न वाणिज्य सचिव सकारात्मक


बजारमा सुनको माग अनुसारको आपुर्ति बढाउन आयात कोटा नै बढाउनु पर्ने बताएका छन् । सुनको आयत बढाई माग अनुसारको आपुर्तिका लागि आवश्यक पहल गर्ने पनि बताएका हुन ।

सुन आपुर्ति न्यून भएपछि बजारमा कच्चा सुनको अभाव देखिएपछि वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराइसँग भेटगरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सृजना भैसकेको भन्दै तत्काल कोटा वृद्धिगर्न माग गरेको थियो ।

सो भेटमा सचिव भट्टराइले कोटा वृद्धिगरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन । उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्वन्धित निकायहरुसँग आवयक परामर्शगरी सिघ्र समस्याको समाधान गरिने बताए ।
सचिव भट्टराइले आपूर्ति ब्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्ने तर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग छिट्टै सम्वोधन गरिने आस्वशन दिएका छन ।

सुनचाँदी व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको व्यवस्था गर्न, रोजगारिका अवसर बढाउन, सुनका गरगहना निर्यातकालागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा ब्यवसायीहरुरका तर्फवाट अगाडि सारिएका अन्य मागहरुलाई सम्वोधन गर्न सम्वन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिवद्धता समेत उनले जनाएका छन् ।

भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको बताए । “अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग रहेको छ,” शाक्यले भने,“आवश्यकता अनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा बढेको छ । ” पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।