वित्तीय विबरण निकाल्ने पहिलो वाणिज्य बैंक सिटिजन्सको खुद नाफा एक अर्ब नाघ्यो


चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सिटिजन्स बैंकले १ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंकका रुपमा शनिबार विबरण सार्वजनिक गरेको बैंकले दोस्रो त्रैमासको तुलनामा झण्डै ३० करोडले नाफा बढाएको हो ।

बैंकले चैत मसान्तसम्ममा १ अर्ब ६ करोड ९६ लाख रुपैंया खुद नाफा कमाएको हो । एनएफआरएस प्रणालीका आधारमा बैंकको प्रगति औसतमा रहेको देखिन्छ । बैंकले गत पुस मसान्तको तुलनामा २९ करोड ९२ लाख ५५ हजार रुपैयाँले खुद नाफा बढाएको हो । दोस्रो त्रैमासमा बैंकले ७७ करोड ३ लाख खुद रुपैंया खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै अवधिका आधारमा पनि बैंकको खुद नाफा ५ करोडले बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले एक अर्ब ९८ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले ६६ करोड ९६ लाख वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ ।

विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत साधारण जगेडामा २१ करोड ३९ लाख रुपैंया सञ्चित गरेको बैंकले पूँजीगत जगेडामा ७ करोड १४ लाख, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड ७ लाख र रेगुलेटरी जगेडामा ११ करोड ३० लाख रुपैयाँ सञ्चित गरेको छ ।

यस अवधिमा बैंकले ६५ अर्ब ९२ करोड रुपैंया निक्षेप संकलन गरी ६१ अर्ब २ करोड रुपैंया ऋण लगानी गरेको छ ।