नेपालमा यो वर्ष हिन्दु संस्कार अनुसार गरिने विवाहमा मंसिर यता लगन थिएन । तर बैशाख महिना नजिकिँदै गर्दा बजारमा सुनको माग पनि बढेको छ । कुनै समय तोलाको १ लाख रुपैयाँ नाघेको सुनको मूल्य अहिले घट्दो अवस्थामा छ । त्यसमा पनि विवाहका लगनहरु नजिकिँदै गर्दै सुन पसलहरुमा भीड बढेको छ।
बजारमा सुनको माग बढेपछि सुनचाँदी व्यवसायीले सुनको कोटा बढाउन माग गर्दै सरोकारवालाहरुसँगको भेटवार्ता सुरु गरिसकेका छन् ।
महासंघको टोलीले बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र मंगलबार सचिवसँगको भेटवार्ता गरेका थिए ।
भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिलेको समस्या आएको बताए । “अहिले बजारमा दैनिक २६ देखि ३० किलोसम्म सुनको माग रहेको छ,” शाक्यले भने, “आवश्यकता अनुसार सुन नहुँदा हुने व्यापार पनि कसरी गर्ने, गर्ने कि नगर्ने भइरहेको छ ।” विवाहको लगन आउने केही महिना अघि देखि बजारमा सुनको माग हुन्छ । त्यो आशा हाम्रो पनि हो । तर सुनको अभावका कारण कति अर्डरहरु पनि नलिने अवस्था रहेको शाक्यलले बताए ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । सरकारले सुनको आयात बढाउने आश्वासन दिएको तर कहिलेबाट बढाउने भन्ने पक्का नभएको शाक्य बताउँछन् ।
हप्तामा ३ हजार बढीले घट्यो भाउ
नेपाली बजारमा पछिल्लो एक सातामा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको छ । गत शुक्रबार अर्थात फागुन १४ गते छापावाला सुन तोलामा ८८ हजार ८०० रुपैयाँ र तेजावी ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको सुनको मूल्य फागुन २१ गतेसम्म आइपुग्दा ३ हजार २०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य यो हप्ता सम्ममा ८५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ, तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २५० रुपैयाँ तोकिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया