बीमा कम्पनीको सूचीकृत कम्पनीको साधारण शेयरमा साढे २४ अर्ब रुपैयाँ लगानी

0
Shares

बीमा व्यवसाय गर्ने कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा साढे २४ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा सञ्चालनमा रहेका ३८ बीमा कम्पनीहरुले २४ अर्ब ६६ करोड ६३ लाख ३० हजार रुपैयाँ सूचीकृत कम्पनीहरुको साधारण शेयरमा लगानी गरेका हुन् ।

बीमकको लगानी निर्देशिका, २०७५ अनुसार बीमा कम्पनीहरुले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न पाउने व्यवस्था रहेको छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १७ कम्पनीले मात्रै सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी गरेका छन् । १७ जीवन बीमा कम्पनीले १८ अर्ब ८७ करोड ५९ लाख ५४ हजार रुपैयाँ लगानी गरेका छन् । दुई जीवन बीमा कम्पनीले भने लगानी गरेका छैनन् । मेट लाइफ र महालक्ष्मी लाइफले सूचीकृत कम्पनीको साधारण शेयरमा लगानी गरेका छैनन् ।

यसैगरी २० मध्ये १८ निर्जीवन बीमा कम्पनी र एक पुनर्बीमा कम्पनीले गरी ५ अर्ब ७९ करोड ३ लाख ७६ हजार रुपैयाँ लगानी गरेका छन् । दुई निर्जीवन बीमा कम्पनीले पनि सूचीकृत शेयरमा लगानी गरेका छैनन् ।

  • जीवन बीमाले दोस्रो त्रैमासमा मात्रै साढे २ अर्बले बढाए शेयरमा लगानी

जीवन बीमा कम्पनीहरुले चालु आवको पहिलो त्रैमासको तुलनामा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा २ अर्ब ५३ करोड ९ लाख ५२ हजार रुपैयाँ लगानी बढाएका हुन् । यो रकम गत असोजको तुलनामा औषतमा १५.४८ प्रतिशत धेरै हो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीहरुले १६ अर्ब ३४ करोड ५० लाख २ हजार रुपैयाँ लगानी गरेकोमा पुस मसान्तसम्ममा १८ अर्ब ८७ करोड ५९ लाख ५४ हजार रुपैयाँ पुगेको हो ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आवको दोस्रो जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा संस्थानले सबैभन्दा धेरै ५ अर्ब ४५ करोड ६२ लाख २६ हजार रुपैयाँ सूचीकृत शेयरमा लगानी गरेको छ । रकमको आधारमा सबैभन्दा धेरै लगानी रहेपनि कम्पनीको लगानी पहिलो त्रैमासको तुलनामा ९५ करोड ५ लाख अर्थात १४.८४ प्रतिशतले घटेको हो ।

यस्तै नेपाल लाइफले ३ अर्ब ४३ करोड ८३ लाख ५२ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनले २ अर्ब ५९ करोड ८२ लाख ६१ हजार रुपैयाँ, एशियन लाइफले १ अर्ब ६६ करोड ७७ लाख ४४ हजार रुपैयाँ, नेशनल लाइफले १ अर्ब २८ करोड ५९ लाख ५० हजार र सिटिजन्स लाइफले १ अर्ब २१ करोड २४ लाख रुपैयाँ लगानी गरेका छन् । बाँकी ११ कम्पनीमध्ये तीन कम्पनीले ५० करोड बढी, पाँच कम्पनीले १० करोडभन्दा बढी ५० करोडभन्दा कम र तीन कम्पनीले १० करोडभन्दा कम लगानी गरेका छन् । सबैभन्दा कम लगानी रहेको रिलायन्स लाइफको ७९ लाख ३ हजार रहेको छ ।

प्रथम त्रैमासको तुलनामा सानिमा लाइफले सबैभन्दा धेरै १०५८ प्रतिशत अर्थात ५० करोड ३६ लाख रुपैयाँ लगानी पछिल्लो तीन महिनामा गरेको छ । असोजसम्म ४ करोड ७५ लाख लगानी गरेको कम्पनीको पुस मसान्तसमा ५५ करोड ११ लाख पुगेको हो ।

यस अवधिमा रिलायबल नेपाल लाइफको लगानी असोजको तुलनामा पुसमा २४.०९ प्रतिशत अर्थात ३ करोड ४१ लख रुपैयाँले घटेको हो । असोजमा सूचीकृत कम्पनीको शेयरमा १४ करोड १५ लाख लगानी रहेको रिलायबल नेपाल लाइफको पुस मसान्तमा १० करोड ७४ लाखमा झरेको हो ।

  • पछिल्लो तीन महिनामा निर्जीवन बीमा कम्पनीले सूचीकृत शेयरमा ३९ करोड बढाए लगानी

निर्जीवन बीमा तथा पुनर्बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा सूचीकृत कम्पनीको साधारण शेयरमा ५ अर्ब ७९ करोड ३ लाख ७६ हजार रुपैयाँ लगानी गरेका छन् ।

चालु आवको पहिलो तीन महिना अर्थात असोजसम्ममा पुनर्बीमा कम्पनी र १९ निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ३९ करोड ८६ लाख ६ हजार रुपैयाँ लगानी गरेका थिए । समीक्षा अवधिमा लगानी रकम औषतमा ७.२६ प्रतिशत अर्थात ३९ करोड १७ लाख ७० हजार रुपैयाँले लगानी बढाएका हुन् ।

यस अवधिमा पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै १ अर्ब २२ करोड ६४ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । गत असोजसम्ममा ६९ करोड ८३ लाख ८२ हजार रुपैयाँ लगानी गरेको कम्पनीले पुस मसान्तसम्ममा ५२ करोड ८० लाख ५० हजार अर्थात ७५.६१ प्रतिशतले लगानी बढाएको हो । पछिल्लो तीन महिनामा पुनर्बीमाले सबैभन्दा धेरै लगानी पनि बढाएको छ ।

राष्ट्रिय बीमा कम्पनीले पछिल्लो तीन महिनामा कम्पनीले कुनैपनि लगानी थपेको छैन । असोजमा ८५ करोड ९५ लाख २४ हजार रुपैयाँ लगानी गरेको कम्पनीको पुसससम्म पनि सोही रकम मात्र लगानी छ । यसैगरी हिमालयन जनरल र नेशनल इन्स्योरेन्सले पनि असोजसम्म गरेको लगानीमा थपेका छैनन् ।

पुुस मसान्तसम्ममा नेशनल इन्स्योरेन्स, लुम्बिनी जनरल, अजोड, सानिमा जनरलको सूचीकृत शेयरमा लगानी १० करोडभन्दा कम छ । सबैभन्दा कम लगानी गरेको सानिमा जनरलले ११ लाख ९५ हजार रुपैयाँ लगानी गरेको छ भने ओरियन्टल इन्स्योरेन्सको तथ्याङ्क उपलब्ध हुन सकेको छैन । असोजसम्म ओरियन्टल इन्स्योरेन्सले ११ करोड ३९ लाख लगानी गरेको थियो ।

असोजको तुलनामा पुस मसान्तमा लुम्बिनी जनरल इन्स्योरेन्सको लगानी सबैभन्दा धेरै ८६.८९ प्रतिशत अर्थात १६ करोड ३५ लाख ५२ हजार रुपैयाँले लगानी घटेको छ ।

असोजमा १८ करोड ८२ लाख १९ हजार रुपैयाँ सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको लुम्बिनी जनरलको लगानी पुस मसान्तमा २ करोड ४६ लाख ६७ हजारमा संकुचित बनेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।