पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै


इस्लामाबाद । मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबीच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएको छ । एक महिनाअघि सुरु भएको युद्धपछि पहिलोपटक दुवै पक्ष आमनेसामने हुन लागेका हुन् । यसलाई सम्भावित दीर्घकालीन शान्तितर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल यस वार्तामा सहभागी हुन इस्लामाबाद पुग्दैछ । यसअघि नै इरानी टोली संसद्का अध्यक्ष मोहम्मद बाघेर कालिबाफको नेतृत्वमा त्यहाँ आइपुगेको छ । उनले लेबनानमा इजरायलसँगको युद्धविराम सुनिश्चित भएमा मात्र अवरुद्ध इरानी सम्पत्तिको रिहाइबारे छलफल हुने सङ्केत गरेका छन् ।

यद्यपि, वार्ता सुरु हुनुअघि नै चुनौतीहरू स्पष्ट देखिएका छन् । दक्षिणी लेबनानको सीमामा इजरायल र हिजबुल्लाहबीच गोलीबारी जारी रहनु र इरानले पूर्वसर्तहरू अघि सार्नुले पाकिस्तानले मध्यस्थता गरेको युद्धविरामलाई कमजोर बनाउने जोखिम देखिएको छ ।

वार्ताको सुरक्षालाई ध्यानमा राख्दै इस्लामाबादका सडकहरू शनिबार बिहानदेखि खालीजस्तै देखिएका छन् । सुरक्षा निकायहरूले मुख्य मार्गहरू बन्द गरेका छन् भने सर्वसाधारणलाई घरमै बस्न आग्रह गरिएको छ । यसले सहरमा कफ्र्यूजस्तो अवस्था सिर्जना गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले द्वन्द्व ‘कठिन चरण’ मा प्रवेश गरिरहेको बताउँदै अस्थायी युद्धविरामलाई स्थायी समाधानतर्फ रूपान्तरण गर्नु अहिलेको मुख्य चुनौती भएको उल्लेख गरे ।  

ट्रम्पले इरानसँग वार्तामा सीमित विकल्प रहेको दाबी गर्दै उसले अन्तर्राष्ट्रिय जलमार्ग प्रयोगलाई दबाबको साधन बनाएको टिप्पणी गरे। उनका अनुसार वार्तामा सहभागी हुनु नै इरानका लागि अहिलेको प्रमुख विकल्प बनेको छ ।

यस परिस्थितिमा पाकिस्तानमा सुरु हुन लागेको अमेरिका–इरान वार्ताले केवल द्वन्द्वमा अस्थायी विराम ल्याउने मात्र नभई व्यापक क्षेत्रीय स्थायित्वतर्फ मार्ग खोल्न सक्छ कि सक्दैन भन्ने चासो अन्तर्राष्ट्रिय समुदायमा बढ्दो छ ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।