क्यूआर कोड मार्फत ६ महिनामा साढे ५ अर्बको कारोबार

0
Shares

चालु आर्थिक वर्षको ६ महिनासम्ममा क्यूआर कोडबाट करिब १६ लाख वटा कारोबार भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा क्यूआर कोड मार्फत ५ अर्ब ६४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेपालमा सन् २०१७ देखि क्यूआर कोड मार्फतको भुक्तानी सुरु भएको हो ।

पछिल्लो समयमा होटल तथा रेष्टुरेन्टमा हुने भुक्तानीमा यसको प्रयोग बढ्दो छ ।

चालु आर्थिक वर्षको हरेक महिना क्यूआर मार्फत हुने भुक्तानी वृद्धि हुँदै गएको छ ।

चालु आर्थिक वर्षको साउनमा करिब २ लाख वटा भुक्तानी क्यूआर मार्फत भएकोमा भदौ महिनामा भने कारोबार संख्या घटेपनि भुक्तानी रकमको आकार भने बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामध्ये पुसमा कारोबार संख्या धेरै छ भने रकमका आधारमा मंसिर महिना अघि छ । मंसिर महिनामा ३ लाख ४३ हजार ५७४ वटा कारोबार मार्फत एक अर्ब २५ करोड ५६ लाख रुपैयाँ भुक्तानी भएको छ । तर, पुस महिनामा ३ लाख ७२ हजार एक सय ७६ कारोबार संख्याबाट एक अर्ब २४ करोड ५० लाख रुपैयाँ बराबरको भूक्तानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि टच लेस भुक्तानी प्रणाली विकास गरेको नेपाल राष्ट्र बैंकले क्यूआर कोडलाई अभियानका रुपमा सुरु गरेको छ । केन्द्रीय बैंकले सुरु गरेको अभियानमा तरकारी बजारको सन्दर्भमा क्यूआर कोड मार्फत वित्तीय कारोबार प्रभावकारी हुन नसकेपनि अन्य क्षेत्रको खुद्रा वित्तीय कारोबारको भुक्तानीमा क्यूआर कोडलाई जनमानसले अभ्यासमा ल्याएको देखिन्छ ।

विद्यार्थी दखि प्रविधिमैत्री युवाले क्यूआर कोड मार्फतको भुक्तानीलाई अंगालेको भएपनि राष्ट्र बैंकले सोचेजस्तो ‘लेस क्यास सोसाइटी’ विकासमा क्यूआर कोड प्रभावकारी हुन सकेको छैन । विद्युतीय भुक्तानीमा क्यूआर कोड सहज भएपनि पुरानो पुस्ताले नगदमा कारोबार गर्न रुचाउने हुँदा प्रभावकारी हुन नसकेको हो । यसका लागि केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्थाहरुले पनि सुसूचित गर्नुपर्ने देखिन्छ । प्रयाप्त ज्ञानको अभावका कारणले पनि यसको प्रयोग जति बढ्नुपर्ने हो सो अनुसार हुन नसकेको देखिन्छ ।

क्युआर कोड मार्फत भएको भुक्तानीको अवस्था

साउन २०७७ देखि पुससम्ममा आइपुग्दा क्युआर कारोबार संख्या तथा रकममा पछिल्ला महिनाहरुमा उल्लेख्य विस्तार भएको देखिन्छ । भुक्तानीमा हुने सहजतासँगै नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरुको प्रयासले क्यूआर कोड मार्फको वित्तीय कारोबामा सुधार हुँदै आएको छ ।

सुरुवात र प्रयोग

स्मार्टफोनको क्यामेराले कोड रिड गर्नसक्ने भएकाले क्यूआर कोड प्रयोग गर्न सहज छ । प्राय: यूआरएल अथवा अन्य सूचनाहरुको लिङ्क राखिएको हन्छ । यसको पहिलो प्रयोग अलि पे ले सन् २०११ मा चीनबाट सुरु गरेको हो । नेपालमा आइएमई पे ले सन् २०१७ बाट र फोन पे ले सन् २०१८ मा सुरु गरेका हुन् ।

अर्थतन्त्रमा यसको कस्तो प्रभाव पार्छ ?

क्यूआर कोड मार्फत स्मार्टफोन र इन्टरनेटको सहज पहुँचका कारण प्रयोग विस्तार भएको छ । यसको प्रयोगलाई अझै व्यापक रुपमा विस्तार गर्न सकिएमा अनौपचारिक अर्थतन्त्रको आकार घटाउन सहयोग पुग्नेछ । अर्थतन्त्रमा हुने प्रत्येक कारोबारहरुको रेकर्ड विद्युतीय माध्यममा हुने भएकाले समग्र अर्थतन्त्रको विकासमा सहयोग पुग्नेछ ।

के-के मा प्रयोग सकिन्छ ?

विद्युतीय भुक्तानी, वाइफाई पासवर्ड शेयर गर्न, यूआरएल लिङ्क शेयर गर्न, बार कोडको विकल्पको रुपमा इन्भेन्टोरी म्यानेजमेन्ट जस्ता कार्यहरु गर्न सकिन्छ।

ग्रामीण इलाकाका मानिसहरुका लागि के हुँदैछ ?

इन्टरनेट तथा स्मार्ट फोनको प्रयोगमा भएको विस्तारसँगै स्थानीय स्तरमा रहेका बैंक तथा वित्तीय संस्थाका शाखाहरु मार्फत यसको प्रयोगको विस्तार तथा सचेतना कार्यक्रमलाई व्यापक बनाउँदै लगिएको छ ।

सुरक्षित नभएको भन्ने गुनासा छन्, कसरी निरीक्षण हुन्छ ?

भरपर्दो इन्टरनेट सेवा आवश्यक पुर्वाधारको रुपमा रहेकोले इन्टरनेट सेवाको गुणस्तर सुधारका लागि सम्वन्धित सरकारी नियामक निकायहरु मार्फत सेवा प्रदायकहरुसँग आवश्यक समन्वय हुन्छ ।

प्रयोगकर्ताको वित्तीय सचेतनाको स्तरलाई समेत अभिवृद्धी गर्नुपर्ने भएकाले राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुको माध्यमबाट वित्तीय सचेतनाका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको छ । यसले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भुमिका खोल्ने केन्द्रीय बैंकले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।