माछापुच्छ्रे बैंकले एनसिएचएल इएफटी कार्ड सर्भिसेसमार्फत नेपाल पे कार्डलाई इनेबल गर्ने


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसिएचएलबिच इएफटी कार्ड स्विचमार्फत नेपाल पे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदान–प्रदान गरेका हुन् ।

एनसिएचएलको इएफटी स्विच नेसनल कार्ड स्विचसँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौतापश्चात् माछापुच्छ्रे बैंकले ग्राहकहरूका लागि नेपाल पे कार्ड जारी गर्न सक्नेछ । साथै, डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र पे कार्डसमेत अक्वायर गरी नेपाल पे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछन् । पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटिएम र ३ हजारभन्दा बढी पिओएस टर्मिनमार्फत नेपाल पे कार्डको अक्वायरिङका लागि इनेबल गर्नेछ भने क्रमिक रूपमा उक्त कार्ड आफ्नो ग्राहकहरूलाई जारीसमेत गर्नेछ ।

एनसिएचएलले हालै नेपाल पे कार्डको व्यावसायिक रोलआउट सुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवकमार्फत नेपाल पे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । नेश्नल पेमेन्ट स्विचअन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।

साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।
एनसिएचएलको इएफटी सर्भिसेसमार्फत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेसनल पेमेन्ट स्विचबिचको इन्टिग्रेसनसँगै अब नेपाल पे कार्ड पनि प्रोसेस गर्न सक्ने भएको हो । इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपाल पे कार्ड अक्वायर तथा इस्यु गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक वित्तीय संस्थाहरू आबद्ध भई रोलआउटको विभिन्न चरणमा छन् ।

नेपाल पे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल दुईवटा कमर्सियल बैंकले कार्ड इस्यु गर्न सुरु गरिसकेको छन् भने तीनवटा कमर्सियल बैंकले अक्वायरिङ पनि गर्दै आइरहेका छन् र आगामी दिनहरूमा यो वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।