सातामा सुन तोलामा २९ सयले र चाँदी तोलामा १७० रुपैयाँले महँगियो


काठमाडौँ । नेपाली बजारमा यो साता सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारदेखि आज शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला १७० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार अघिल्लो शुक्रबार (चैत २७ गते) सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ रहेको थियो । त्यसपछि बजार खुल्दा आइतबार सुनको भाउ २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि सोमबार भने सुनको मूल्य ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो भने मंगलबार बैशाख १ गते २ लाख ९९ हजार ८०० रुपैयाँ भएको सुनको भाउ बुधबार २ हजार ९०० रुपैयाँले बढेर ३ लाख नाघेको थियो ।

बुधबार सुन प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ र बिहीबार ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
३ लाख माथि पुगेको सुुनको भाउ सातामा अन्तिम दिन घटेर फेरी ३ लाखबाट तल झरेको हो ।

साताभर सुनसँगै चाँदीको मूल्यमा पनि निरन्तर जसो वृद्धि देखिएको छ । अघिल्लो शुक्रबार प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार १३० रुपैयाँ पुगेको छ । महासंघका अनुसार चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो । सोमबार प्रतितोला ४ हजार ९०० रुपैयाँ कायम भएको चाँदी मंगलबार भने १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार प्रतितोला ५ हजार २२० रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार ५ हजार २५० रुपैयाँ पुगेको थियो । यो साता प्राय बढेको चाँदी अन्तिम कारोबार दिन भने उच्च गिरावट आएको हो ।

प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार  ०८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।