भारतका शेयर लगानीकर्ताले एकैदिन ३ लाख करोड गुमाउँदा नेपालीको २५ अर्ब चैट

0
Shares

भारतीय शेयर बजारमा आएको उच्च अंकको गिरावटले सोमबार मात्र लगानीकर्ताले ३ लाख करोड भारु गुमाएका छन् । मुम्बइ स्टक एक्सचेन्ज सेनसेक्स र नेशनल स्टक एक्सचेन्ज सूचक निफ्टी घटेपछि लगानीकर्ताको अर्बौको सम्पत्ति घटेको हो ।

पछिल्लो समयमा विश्वका शेयर बजार करेक्शन हुने क्रममा देखिएका छन् । तर, सोमबार भने अधिकांश एशियाली बजारमा खरीद कर्तानै हाबी भएको देखिन्छ ।

कोरोनाका कारण आर्थिक गतिविधि सुस्त रहेको हुनाले सबै क्षेत्रको लगानी शेयर बजारमा गएको अवस्था थियो । तर पछिल्लो समयमा कोरानाको खोज पनि प्रयोग आइसकेपछि आर्थिक गतिविधि बढ्न थालेको छ ।

सोमबार नेपाली शेयर लगानीकर्ताले पनि करिब २५ अर्ब रुपैयाँ गुमाएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १८ अंक भन्दा धेरैले घटेपछि लगानीकर्ताले सो रकम गुमाएका हुन् । यस दिन भारतीय शेयर बजार सूचक सेन्सेक्स ९ सय तथा निफ्टी २ प्रतिशतसम्मले घटेपछि लगानीकर्ताको ठूलो आकारमा सम्पत्ति गुमेको हो ।

कोरोनाको असर कम भएसँगै आर्थिक गतिविधिमा सुधार आएपछि बैंकिङ क्षेत्रको ब्याजदर बढ्ने र तरलता संकुचन तर्फ देखिएपछि त्यसको असर नेप्सेमा देखिएको हो । त्यसका साथै राजनीतिक बातावरण देखिएको अन्योलताले पनि शेयर लगानीकर्ताको मनोबल कमजोर बनाएको हुँदा बिक्री चाप बढेको हो ।

पछिल्ला पाँच दिन देखि निरन्तर नेप्से सूचक घट्दो क्रममा रहेको छ । पछिल्ला दिनहरुमा नेप्से सूचक निरन्तर घट्दा ३६ खर्ब रुपैयाँसम्म पुगेको नेप्सेको कुल बजार पूँजीकरण सोमबारसम्म आइपुग्दा घटेर ३२ खर्ब ९१ अर्बमा खुम्चिएको छ ।

भारतमा कोरोनाको दोस्रो चरणको संक्रमण सुरुभएको सूचनाले शेयर बजारमा नकरात्मक असर गरेको हो । त्यसका साथै अमेरिकी बण्डको इल्ड पछिल्ला एक वर्षकै उच्च भएको हुनाले पनि शेयर बजारले ओरालोे दिशा समातेको हो । बण्डको इल्ड पछिल्लो एक वर्षको उच्च भएपनि अमेरिकी शेयर बजार शुक्रबार नयाँ उचाईमा पुगेको थियो । कोरोना भाइरसको संक्रमण सुरु भएसँगै विश्वका अधिकांश शेयर बजार नयाँ उचाइ तय गरे । निरन्तर बढेका शेयर बजार सूचकमा केही करेक्शन आवश्यक पनि थियो ।

भारतीय पूँजी बजारको सन्दर्भमा औद्योगिक क्षेत्रको वृद्धि १.६ प्रतिशतमा सीमित, महङ्गी उच्च दरमा बढ््नु लगायतका गतिविधिका कारण भारतीय शेयर बजारमा गिरावट आएको हो ।

सोमबार भारतीय शेयर बजार बन्द हुने समयमा घट्दो क्रममा भने केही सुधार आएर बन्द भएको छ । सेनसेक्स ३९७ अंकले मात्र घटेर ५० हजार ३९५ अंकमा झरेको छ भने निफ्टी १०१ अंकले घटेर १४ हजार ९३० अंकमा बन्द भएको छ ।

यता नेपालको शेयर बजार सूचक पनि १८.०७ अंकले घटेर २ हजार ३८९ दशमलव १९ मा झरेको छ । २१२ कम्पनीको ९६ लाख ४ हजार कित्ता शेयर ४ अर्ब २४ करोड ८४ लाखको श्यर खरीद बिक्री भएको सोमबारको बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकको सबैभन्दा ४३ करोड ६२ लाखको शेयर कारोबार भएको छ ।
आज चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, र आँखुखोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढोत्तरी हुँदा हिमालयन पावर पार्टनरका लगानीकर्ताले सर्वाधिक ६।२५ प्रतिशतका दरले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत २०७७, सोमबार  १८ : ४९ बजे