
वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले चैत्र ३ गते मंगलबारदेखि एक आपसमा मजर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका छन् ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेको वोमी र सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच गत भदौमा मर्जरमा जाने समझादरी भएको थियो । मर्जर सम्पन्न भएको ६ महिनापछि “वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड”को नामबाट मंगरबारदेखि एकीकृत कारोबार सुरु भएको हो ।
दुवै कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले एक आपसमा एक बराबर एक अनुपातमा गाभ्ने/गाभिने सम्बन्धमा अन्तिम प्रस्ताव पारित गरेका थिए ।
गत आवको नाफाबाट ३० प्रतिशत बोनस वितरणपछि वोमीको चुक्ता पूँजी ३६ करोड १२ लाख रहेको छ भने कल इन एडभान्स्ड सहित ग्रामीण स्वयंसेवकको ५ करोड ७ लाख पूँजी थपिएसँगै एकिकृत संस्थाको चुक्ता पूँजी ४१ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
ग्रामीण स्वयंसेवकसँग मर्जपछि वोमीमा संस्थापक साधारण शेयर हिस्सा ६५.६१ प्रतिशत र ३४.३९ प्रतिशत कायम भएको छ । यसअघि वोमीमा संस्थापक साधारण शेयर हिस्सा ६०.७८ प्रतिशत र ३९.२२ प्रतिशत रहेको थियो ।
वोमीको केन्द्रीय कार्यालय भरतपुर, आस्था चोकमा र ग्रामीण स्वयंसेवकको केन्द्रीय कार्यालय सर्लाहीमा छ । मर्जरपश्चात बनेको वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नं. ३, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४, साँगामा रहने लघुवित्तले जनाएको छ । वोमीले यसअघि नागरिक लघुवित्तलाई गाभेको थियो ।
- कहिले खुल्छ वोमीको शेयर कारोबार ?
दुई संस्थाबीच मंगलबारदेखि एकीकृत करोबार सुरु भएसँगै रोक्का रहेको वोमीको शेयर कहिलेबाट सुरु हुन्छ भन्ने चासो लगानीकर्तामा रहेको छ ।
यस सम्बन्धमा नोटबजारसँग कुराकानी गर्दै वोमी माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले छिट्टै कारोबार खुलाउने बताए ।
‘शेयर कारोबार खुला गर्नका लागि दुई साताअघि नै नेपाल धितोत्रप बोर्डमा निवेदन दिएको छौं । एक दुई दिनभित्रै धितोपत्र बोर्डबाट अनुमति पाउनेमा आशावादी छौं । ’ सीईओ आचार्यले भने ।
धितोपत्र बोर्डबाट स्वीकृति पाउने वित्तिकै सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा आवश्यक प्रकृया अगाडि बढाइने उनले बताए ।
वोमी लघुवित्तको मर्जर सम्झौतापछि गत भदौदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का छ । ग्रामीण स्वयंसेवक लघुवित्तको शेयर वोमी लघुवित्तको नाममा नेप्सेमा सूचीकृत भएसँगै रोक्का रहेको लगानीकर्ताको सम्पत्ति खुला हुनेछ ।
यससँगै ६ महिनादेखि वोमी लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले दोेस्रो बजारमा शेयर खरीद बिक्री गर्न सक्नेछन् । मर्जरका कारण कारोबार रोक्का हुँदा नेप्सेको बुलिस ट्रेण्डमा लघुवित्तका लगानीकर्ताले नाफा कमाउनबाट बञ्चित भएका थिए । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त बीच भदौ २६ गते शुक्रबार मर्जरमा जाने सम्झौता भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया