सर्वोत्तम सिमेन्टले आइपीओ जारी गर्न नियुक्त गर्यो बिक्री प्रबन्धक

0
Shares


सर्वोत्तम सिमेन्टको साधारण शेयर (आइपीओ) जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक तथा प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक तोकेको छ ।

कम्पनीले बुक विल्डिङ विधिमार्फत् ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो। जसमध्ये २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जसको १५ प्रतिशत अर्थात् ६० लाख कित्ता आइपीओ जारी गर्ने जनाएको छ ।
बुक विल्डिङ विधिमार्फत् आईपीओको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको छ । कम्पनीले तोकेको आशय मूल्यमा योग्य संस्थागत लगानीकर्ताले विडिङ गरेर ‘कटअफ प्राइस’ तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य तय हुन्छ ।

कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ । सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टले जानकारी गराएको छ ।

प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले शेयर निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ । कम्पनीले आइपीओ जारी गरेको ३ महिना भित्रै लगानीकर्तालाई १० प्रतिशत बोनश र २५ प्रतिशत नगद लाभांश दिने बताएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।