काठमाडौँ । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ पहलअन्तर्गत सहकार्य सम्झौता गरेको छ । उक्त सहकार्य ग्लोबल महिला सूक्ष्म, साना तथा मझौला उद्यमसम्बन्धी लैङ्गिक तथ्यांक व्यवस्थापन कार्यक्रमअन्तर्गत सम्पन्न भएको हो ।
महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल ‘वी–फाइ’को सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुने जनाइएको छ । वी–फाइले विश्वभर महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यमहरूमा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ ।
यसैगरी, ‘वी–फाइनान्स कोड’ वित्तीय संस्था, नियामक निकाय तथा सम्बन्धित सरोकारवालाबीचको साझा प्रतिबद्धता रहेको बताइएको छ, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराउँदै आर्थिक वृद्धि र रोजगारी सिर्जनामा टेवा पुर्याउने उद्देश्य राखेको छ ।
सम्झौतापत्रमा लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका छन् ।
सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांक संकलन, विश्लेषण तथा प्रयोग प्रक्रियालाई सुदृढ बनाउन प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसबाट महिला स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूको आवश्यकता, चुनौती र अवसरबारे स्पष्ट बुझाइ विकास हुने विश्वास गरिएको छ ।
उक्त तथ्यांकका आधारमा बैंकले महिला उद्यमीहरूका लागि थप प्रभावकारी तथा उपयुक्त वित्तीय सेवा तथा समाधान विकास गर्न सक्ने अपेक्षा गरिएको छ ।
बैंकका अनुसार यस सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउनुका साथै महिला उद्यमशीलता प्रवर्द्धन र समावेशी आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।












प्रतिक्रिया