विद्युत महसुल बुझाउँदा पाँच रुपैयाँ सेवा शुल्क थपिँदै, झन्झट अन्त्य गर्न सेवा प्रदायक खोज्दै प्राधिकरण

0
Shares

विद्युत् महसुल बुझाउन लामो लाइन बस्नुपर्ने तथा अनेकन झन्झट व्योहोर्नुपर्ने अवस्थाको अन्त्यका लागि नेपाल विद्युत् प्राधिकरणले भुक्तानी प्रणालीलाई थप सहज बनाउने भएको छ ।

प्राधिकरणले महसुल भुक्तानीको सहज व्यवस्थाका लागि सेवाप्रदायक छनोट गर्ने भएको छ । प्राधिकरणले एक सूचना मार्फत महसुल सङ्कलनका लागि तोकिएको व्यवस्थाअनुसार आवेदन गर्न आग्रह गरेको छ ।

सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य परिवर्तन भएको तथा इन्टरनेट सेवा विस्तार भएको तथ्य मनन गर्दै प्राधिकरणले सहज रुपमा महसुल सङ्कलन गर्ने व्यवस्था गर्न लागिएको जनाएको छ ।

प्राधिकरणले उपभोक्तालाई विद्युतीय प्रणाली मार्फत महसुल विद्युत् महसुल भुक्तानी सेवा सञ्चालन गर्न इच्छुक सेवा प्रदायकबाट प्रस्ताव आह्वान गरेको छ ।

प्राधिकरणले उपभोक्तालाई पु¥याउने सेवा विस्तार गर्ने सन्दर्भमा महसुल सङ्कलनलाई शहरी तथा दुर्गम क्षेत्रमा सहज रुपमा विस्तार गर्न लागिएको जनाएको छ ।

सुरक्षित, भरपर्दो अत्याधुनिक प्रविधिबाट अनलाइन विद्युत् सङ्कलन गर्ने कार्य गर्न इच्छुक सेवा प्रदायकबाट प्रस्ताव माग गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।

महशुल भुक्तानी सेवा सञ्चालन गर्न चाहने सेवा प्रदायकले कागजातको प्रमाणित प्रतिलिपी संलग्न गरी तोकिएको समयभित्र प्रस्ताव पेश गर्नुपर्नेछ । सूचनाअनुसार ३० दिनभित्र त्यस्तो प्रस्ताव उपलब्ध हुनुपर्नेछ ।

सेवा प्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, विद्युतीय माध्यम मार्फत आर्थिक कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजतपत्र प्राप्त गरेको प्रमाणपत्र, आयकर÷भ्याट दर्ता प्रमाणपत्र, गत आवसम्मको कर चुक्ता प्रमाणपत्र, सेवाप्रदायक संस्थाको प्रबन्धपत्र तथा नियमावली आवश्यक पर्छ ।

कानूनी रुपमा अयोग्य नभएको स्वःघोषणा पत्र, प्राधिकरणबाट तोकिए बमोजिमको बैंक जमानत पेश गर्ने प्रतिबद्धतापत्र, दुर्गम क्षेत्रका ग्राहकले विद्युतीय माध्यम मार्फत विद्युत् महशुल सङ्कलन गर्ने गराउने प्रतिबद्धता पत्र, महशुल सङ्कलन गर्ने प्रयोजनको लागि सेवा प्रदायक संस्थाले अवलम्बन गर्ने प्रविधिबाट प्राधिकरणको आय तथ्याङ्कको गोप्यता र सुरक्षा पर्याप्त रहने प्रतिबद्धतापत्र आवश्यक पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

प्रचलित कानून वा विद्युत् महशुल सङ्कलन विनियमावली बमोजिम सङ्कलित रकम प्राधिकरणले तोकेबमोजिम बैंक खातामा दाखिला गर्न मञ्जुरी, महशुल सङ्कलन गर्दा बहुविकल्प प्रविधि जस्तै बैंकमार्फत भुक्तानी वा बढीभन्दा बढी माध्यमबाट महशुल भुक्तानी लिई ग्राहकलाई सुविधा दिनसक्ने आधार पेश गर्नुपर्नेछ ।

महशुल सङ्कलनको अनुभव तथा सम्बन्धित निकायबाट प्रमाणपत्रको प्रमाणित प्रतिलिपी पेश गर्नुपर्ने कानूनी प्रावधान छ । सेवा प्रदायक संस्थामा कम्तीमा पाँच विषयगत प्राविधिक जनशक्तिको विवरण, सेवाप्रदायकले कार्य गर्ने क्षेत्र, सञ्जाल एवं एजेन्सीको विवरण, प्राधिकरणको आय प्रणालीमा आबद्ध गर्ने व्यवस्था, प्राधिकरणलाई उपलब्ध गराउने सफ्टवेयर एवं उपकरण, सङ्कलित रकम प्राधिकरणमा जम्मा गर्ने समय, तरिका र सोको सुरक्षण सम्बन्धी व्यवस्था हुनुपर्नेछ ।

  • ५०० रुपैयाँभन्दा माथिको महशुलमा एक पटकमा पाँच रुपैयाँ सेवा शुल्क तिर्नुपर्ने 

प्राधिकरणको सूचनाअनुसार ५०० रुपैयाँसम्मको महशुलमा कुनै पनि प्रकारको सेवा शुल्क लिन पाइने छैन ।

त्यसभन्दा माथिको महशुलमा भने एक पटकमा पाँचका दरले सेवा शुल्क लिन पाइनेछ । कुनै विवाद भएको खण्डमा त्यसको निरुपणका लागि एक समिति रहने प्राधिकरणको सूचनामा उल्लेख छ ।

महशुल सङ्कलन व्यवस्थापनका लागि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकको संयोजकत्वमा छ सदस्यीय समिति गठन हुनेछ ।

समितिका सदस्यमा योजना तथा प्राविधिक सेवा विभागका निर्देशक, सूचना प्रविधि विभागका निर्देशक, संस्थागत वित्तीय सेवा विभागका निर्देशक, कम्प्युटराइज्ड बिलिङ तथा नेटवर्क महाशाखाका प्रमुख सदस्य रहनेछन् ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अर्थ महाशाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार  १९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।