
वोमी लघुवित्तको चैत ९ गते सोमबारदेखि ६ महिनापछि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुल्ने भएको छ ।
यससँगै ६ महिनादेखि वोमी लघुवित्तको शेयरमा लगानी गरेका लगानीकर्ताले दोेस्रो बजारमा शेयर खरीद बिक्री गर्न सक्नेछन् । ग्रामीण स्वयंसेवक लघुवित्तसँग गत भदौमा मर्जरमा जाने समझादारीसँगै नेप्सेमा ६ महिनादेखि रोक्का रहेको कम्पनीको शेयर कारोबार खुला हुने भएको हो ।
एकीकृत कारोबार र शेयर स्वाप रेसियोको अनुपात मिलापछि सोमबारदेखि खुला गरिएको नेप्सेले जनाएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र नेप्सेमा आवश्यक प्रकृया सम्पन्न भएससँगै अब लघुवित्तको मंगलबार अन्तिम पटक शेयर कारोबार भएको अन्तिम मूल्य ९१४ रुपैयाँमा कारोबार खुल्नेछ ।
यसअघि चैत ४ गते लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले छिट्टै कारोबार खुलाउने नोटबजारलाई बताएका थिए । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले चैत्र ३ गते मंगलबारदेखि एक आपसमा मजर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेका थिए ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर सम्पन्नपछि “वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड”को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
मर्जरका कारण कारोबार रोक्का हुँदा नेप्सेको बुलिस ट्रेण्डमा लघुवित्तका लगानीकर्ताले नाफा कमाउनबाट बञ्चित भएका थिए । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त बीच भदौ २६ गते शुक्रबार मर्जरमा जाने सम्झौता भएको थियो ।
दुवै कम्पनीको गत पुस २८ गते सम्पन्न साधारण सभाले एक आपसमा एक बराबर एक अनुपातमा गाभ्ने।गाभिने सम्बन्धमा अन्तिम प्रस्ताव पारित गरेका थिए ।
गत आवको नाफाबाट ३० प्रतिशत बोनस वितरणपछि वोमीको चुक्ता पूँजी ३६ करोड १२ लाख रहेको छ भने कल इन एडभान्स्ड सहित ग्रामीण स्वयंसेवकको ५ करोड ७ लाख पूँजी थपिएसँगै एकिकृत संस्थाको चुक्ता पूँजी ४१ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार वोमी लघुवित्तसँग मर्जरमा गएको ग्रामीणको १ः१ को अनुपातमा कायम हुन आएको ५ लाख ७ हजार ४२० कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्नेगरी आइतबार सूचीकृत भएको हो ।
ग्रामीण स्वयंसेवकसँग मर्जपछि वोमीमा संस्थापक साधारण शेयर हिस्सा ६५.६१ प्रतिशत र ३४.३९ प्रतिशत कायम भएको छ । यसअघि वोमीमा संस्थापक साधारण शेयर हिस्सा ६०.७८ प्रतिशत र ३९.२२ प्रतिशत रहेको थियो ।
वोमीको केन्द्रीय कार्यालय भरतपुर, आस्था चोकमा र ग्रामीण स्वयंसेवकको केन्द्रीय कार्यालय सर्लाहीमा छ । मर्जरपश्चात बनेको वोमी लघुवित्तको रजिष्टर्ड कार्यालय प्रदेश नं। ३, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १४, साँगामा रहने लघुवित्तले जनाएको छ । वोमीले यसअघि नागरिक लघुवित्तलाई गाभेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया